×

वीरगञ्ज, १२ बैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) बाट राजेशमान सिँहले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

वीरगञ्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवलगायत हजारौँको उपस्थितीमा सिँह जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका हुन् । 

ब्यानर एवम् छाता चिन्ह र छातासहित हजारौँ नेता तथा कार्यकर्ताहरु जसपाबाट सिँहको मनोनयन दर्ता गर्न उपस्थित थिए । 

बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिँहले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरुद्धको गठबन्धनले विजयी हाँसिल गरेर देखाउने सांसद् प्रदीप यादवको दावी छ । 

केन्द्रिय समितिको निर्णयअनुसार पवित्र गठबन्धन भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा वीरगञ्जको बिकासका लागि सबैले ऐक्यबद्धता जनाएको यादवले बताए । 

जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार सिँहको विश्वास छ ।

Back to top