×

वीरगञ्ज ।  कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उहाँ पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

यसअघि हिजो एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । कांग्रेस नेता केदार कार्की गएको असोज २९ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

गएको चैत २६ मा सरकारबाट एमाले –माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा हुनुहुन्थ्यो । उहाँले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानका कारण एमाले–माओवादीले पेस गरेको सङ्कल्प प्रस्ताव वैशाख ७ को संसद् वैठकले पारित गरेको थियो ।

मुख्यमन्त्री कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

Back to top