वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट छुटिएर बनेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले नव गठित पार्टी अस्थिरताको कारक नहुने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले सरकारको अङ्कगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अन्डर करेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरू एक ठाउँमा उभिएको बताए ।
अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैर संवैधानिक र गैर कानुनी ढङ्गले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको प्रतिक्रिया दिए । उनले संवैधानिक अङ्गले वकिलहरूको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताए । उनले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरिएको पनि स्पष्ट पारे ।
विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको जिकिर गर्दै उनले भने, ‘अङ्कगणित त मिलेकै थियो, यहाँहरूलाई थाहा छँदै छ । अलिकति अङ्कगणितलाई फेरफार गर्ने गतिविधि पनि अन्डर करेन्ट चलिरहेको छ भन्ने कुरा मिडियाहरूमा आयो । त्यो चिज अलिकति संवेदनशील थियो । त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ । हामी सतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको सिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनु हुँदैन, हामी त्यसै कारण सङ्घीय समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौँ भनेर हामीले घोषणा गरेका छौँ ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए । महाधिवेशन नै कब्जा गरेर अनियमित ढङ्गले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गरे ।
यसअघि बुधवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पत्रकार सम्मेलन गर्दै विभाजित जसपालाई निर्वाचन आयोगले कानुन मिचेर वैधानिकता दिएको दाबी गरेका थिए । उनले केही व्यक्तिहरूले आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले पार्टी फुटाएको र पार्टी फुटाउन विभिन्न किसिमको आर्थिक चलखेल समेत भएको आरोप लगाएका थिए ।