×

फाइल तस्बिर ।

वीरगञ्ज । प्रमुख सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिने हल्लाले जनता समाजवादी पार्टी नेपालका सरोज कुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको कुर्सी हल्लाएको छ । जसपा विभाजन भएसँगै मुख्यमन्त्री यादव दबाबमा परेका हुन् ।

बिहीबार एक कार्यक्रममा सहभागी हुन सर्लाही पुगेका एमालेका प्रदेश संसदीय दलका नेता सरोज यादव अध्यक्ष ओलीको निर्देशनमा कार्यक्रम छोट्ट्याएर जनकपुर फर्केका थिए । जनकपुर फर्के लगत्तै नेता यादवले माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहसँग विकसित राजनीतिक घटनाक्रम तथा नयाँ सत्ता समीकरणको विषयमा छलफल गरेका थिए । तर नयाँ सत्ता समीकरणका लागि अहिलेसम्म विपक्षी दल जनमत र लोसपाका नेताहरूसँग छलफल भएको छैन । 

आफैँ सहभागी रहेको सरकारलाई ढाल्न जसपा अध्यक्ष उपेन्द्र यादवले अमेरिका भ्रमणमा जानुअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य छलफल गरेको एमाले र माओवादी केन्द्रको आरोप छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर जसपा फुटाइदिएको चर्चा छ । यद्यपि यो विषयमा जसपा नेपालका अध्यक्ष यादवले अहिलेसम्म सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छैनन् । 

श्रोतका अनुसार प्रचण्ड, ओली र जसपा अध्यक्ष अशोक राहीबिच केन्द्रदेखि प्रदेशसम्म सत्ता सहकार्य गर्ने र उपेन्द्र यादव नेतृत्वको पार्टीलाई सत्ताबाट अलग राख्ने सहमति भएको थियो । एमालेका एक नेताका अनुसार जसपा नेपाल विभाजित भएपछि अमेरिका भ्रमणबाट फर्के लगत्तै यादवले सरकार छोड्ने अनुमान थियो । तर, अध्यक्ष यादवले आफू वर्तमान गठबन्धनकै पक्षमा रहेको बताइरहेका छन् । 

अहिले जसपा नेपाललाई सत्ताबाट नहटाएको खण्डमा मधेस प्रदेशमा अशोक राईको जसपालाई समस्या हुने देखिएको छ । अर्थात् मधेस प्रदेशमा जसपा नेपाललाई विभाजन गर्न राईलाई कठिन हुनेछ । त्यस करण राईले प्रचण्डलाई सहमति अनुसार जसपा नेपाललाई सरकारबाट निकाल्न दबाब दिइरहेका छन् । तर, उपेन्द्रले सरकार छोड्न नचाहिरहेको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादवलाई अशोक राई नेतृत्वको पार्टीतर्फ लाग्न दबाब दिने उद्देश्यले बिहीबार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिने र जनमत र लोसपासँग मिलेर सरकार बनाउने हल्ला फैलाइएको माओवादीका एक प्रदेश सांसदले बताए । 

मुख्यमन्त्री यादवलाई मधेसमा आफ्नो नेतृत्वको सरकार सुरक्षित राख्न राई नेतृत्वको जसपातर्फ लाग्ने माओवादी र एमालेले दबाब दिएका हुन् । मुख्यमन्त्री यादव सत्ता जोगाउन राईतर्फ जान सक्ने आङ्कलन एमाले र माओवादीको रहेको उनले बताए । 

विगतमा मुख्यमन्त्री यादवले प्रदेश सभामुख रहेका बेला आफ्नो पद जोगाउन तत्कालीन जसपा विभाजित हुँदा लोसपा तर्फ नलागी जसपामै बसेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी मिलेर जसपा निर्माण गरिएको थियो । तत्कालीन जसपाबाट लोसपाबाट अलग हुँदा उनी जसपातर्फ नै लागेका थिए । तत्कालीन लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट यादवले आफ्नो सभामुख पद जोगाउन महतोको साथ छोडेर उपेन्द्र यादवलाई सहयोग गरेका थिए । 

संसदीय दलमा मुख्यमन्त्री यादवको पकड त्यति राम्रो नभए पनि पदमा रहेकोले केही सांसद आफूसँग लिएर जान सक्ने राई पक्षको बुझाइ छ । मुख्यमन्त्री यादवले उपेन्द्र यादवको साथ नछोडेको खण्डमा पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्रीको प्रलोभन दिएर राई पक्षमा तान्ने सम्भावना छ । तर, पटक – पटक पार्टी विभाजन हुँदा राउतले उपेन्द्रलाई साथ दिएकोले त्यो सम्भावना न्यून रहेको एमालेकै सांसदहरू बताउँछन् । जनमतले नयाँ सत्ता समीकरणको लागि आफ्नो नेतृत्वको सरकार गठन हुनुपर्ने पहिलो सर्त राखेकोले एमाले र माओवादी तत्काल सो पक्षमा नरहेको एमालेका एक सांसदले बताए । शिला पत्रबाट ।

Back to top