×

बीरगन्ज – पर्साका समुदायमा संक्रमण फैलिएसँगै निषेधाज्ञा लगाउने तयारी गरिएको छ । पर्सा कोभिड १९ कमाण्ड पोष्टको बैठकमा निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

बिहीबार भएको बैठकमा निषेधाज्ञाको विषयमा छलफल भएको उनले बताए । उनले भने “निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भएपनि निर्णय भने भईसकेको छैन ।” “कहिलेबाट निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा निर्णय भएको छैन, यसका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि लगायत अन्य सरोकारवालाहरुसँग छलफल गरेर कुन मोडालिटीमा जाने हो निर्णय भइसकेपछि मात्र निषेधाज्ञा जारी गर्छौ” सहायक प्रजिअ बस्नेतले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार अधिकांश ट्राभल हिस्ट्री बिनाका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकोले निकै गम्भीर अवस्था सृजना भएको छ । उनी भन्छन् “वास्तवमा देशभरि कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको मात्र हो ।” शुल्क तिरेर परिक्षण शुरू नगरूञ्जेल पर्सामा पनि संक्रमित सबै निको हुँदै २ जना मात्र बाँकी रहेको अवस्था थियो तर शुल्क तिरेर परिक्षण शुरु भएसँगै संक्रमित बढ्न थालेको बस्नेतले बताए । “विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि संक्रमित बढिरहेका छन्, भयावह स्थिति हुन सक्छ, सर्तक रहन जरुरी छ” उनले भने । यस्तो विषम अवस्था विद्यमान रहेकै अवस्थामा लकडाउनको अन्त्यसँगै सबैतिर भिडभाड हुनुले ठूलो खतरा निम्त्याइरहेको सप्रजिअ बस्नेत बताउँछन् । उनले भने “पुनः कठोर कदम चाल्नुपर्ने अवस्था देखियो ।”

यसअघि, नारायणी अस्पतालमा भएको पछिल्लो पिसिआर परिक्षणमा वृद्धसहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने स्वास–प्रस्वासको समस्याले ग्रसित बीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गत साउन७ गते १ सय २८ जनाको स्वाब परिक्षण गर्दा ४ महिलासहित १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरुमध्ये नारायणी अस्त्पालमै कार्यरत एक ४० वर्षीय डाक्टर र निजी अस्पतालमा कार्यरत ६२ वर्षीय अर्का एक डाक्टर पनि रहेका छन् ।

संक्रमितहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् । बीरगञ्जमा लापरबाही बढेकोेले कोरोनाले जटिल रुप लिन सक्ने आंकलन चिकित्सकको छ । डा. निरज सिंह भन्छन् “बीरगञ्ज कोरोनाको इपिसेन्टर हुँदा कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकेन्, पछिल्ला दिनमा भारतबाट लुकेर मानिस आउने क्रम बढेको छ, उनीहरु क्वारेन्टिनमा बसिरहेका छैनन् ।”‘स्वास्थ्य कार्यालयसँग जनशक्ति छैन वा भएर पनि नखटिएको हो, एक जनाले मात्रै काम गरिरहेको देखिन्छ’, उनले भने, ‘बीरगञ्जमा जोखिम बढेको छ, स्वास्थ्यकर्मीको टोली पुगेन ।’

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्याय पर्सा, बारामा समुदाय स्तरमा कोरोना फैलिसकेको बताए । ‘बीरगञ्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना देखिसकेको छ । देशको मुख्य प्रवेशद्वार अनि खुल्ला सीमाका कारण जति नै कडाई गरेपनि मानिस आउने क्रम रोकिएको छैन’, उनले भने, ‘सीमा क्षेत्रमा आवागमनमासँगै बीरगञ्जमा लकडाउनमा कडाई गर्नपर्छ । हामीले लापरवाही ग¥यौं भने कोरोना संक्रमण झनै फैलन्छ ।’ अहिलेको अवस्थामा अत्यावश्यक काममा बाहेक घर बाहिर निसक्न नहुने उनको सुझाव छ ।

Back to top