×

वीरगन्ज १ असार नेपाल भारतबीच व्यापार सहज बनाउन पर्साको अलौमा एकीकृत जाँच चौकी (आइसिपी) संचालनमा ल्याइएको थियो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गरेर आइसिपी संचालनमा ल्याइएको हो । तर आइसिपीबाट सामान आयात निर्यात गर्न खर्चिलो र झन्झटिलो भएको आयातकर्ताहरुले गुनासो गरेका छन् ।रक्सौल र वीरगन्ज भन्सारको तुलानामा आइसिपी पास हुन एउटा गाडीलाई एक साता सम्म लाग्ने गरेको चालकहरुको भनाइ छ ।आइसिपी संचालनमा आएपछि आयात निर्यात सहज हुनका साथै गाडी भाडा, विल्मब शुल्क लगायतका समस्या समाधान हुने अपेक्षा आयातकर्ताको थियो । तर आइसिपी संचालनमा आएपछि झन सास्ती भएको व्यवसायीको गुनासो छ । आसिपीबाट अहिले दैनिक ५ सय देखि ६ सय सम्म मालवाहक गाडीहरु प्रवेश गर्ने गरेका छन् । आईसीपीमा छ वटा गेट भए पनि हालसम्म एउटा गेट मात्र प्रयोगमा ल्याएको छ ।आइसिपीको समस्या समाधान गर्न सरोकारवाले आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । तर आइसिपी संचालनको जिम्मा लिइएको नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसिपी परिसरको व्यवस्थापनको खर्च संकलन गर्ने उद्देश्यले इन्ट्री तथा तौलको रकम लिने गरेको प्रतिक्रिया दिएको छ । गाडी पास हुन धेरै समय लागेको स्वीकार गर्दै उसले समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल भइरहेको बताएको छ ।निकै तामझमाका साथ संचालनमा ल्याइएको आइसिपीको तत्काल व्यवस्थापन गरेर सहज रुपमा सामान आयात निर्यातको व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् ।

Back to top