×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी सेन्ट्रल हस्पिटल प्रालिद्वारा आयोजित नि:शुल्क स्वास्थ्य जाँच शिविरबाट डेढ सय जना लाभान्वित भएका छन् । विश्व रेडक्रस सोसाइटी दिवसको उपलक्ष्यमा अस्पतालले आयोजना गरेको नि:शुल्क स्वास्थ्य जाँच शिविरबाट ७० जना महिला र ३० बालबालिकासहित १ सय ५५ जना लाभान्वित भएका हुन् ।

अस्पतालका प्रशासन शाखाका दीपक कुमार सिंहका अनुसार सामाजिक उत्तरदायित्वलाई वहन गर्दै आइरहेको परोपकारी कामलाई निरन्तरता दिने उद्देश्यका साथ विश्व रेड क्रस दिवसको अवसरमा अस्पतालका मेडिकल निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफको सभापतित्वमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरका सहभागीहरूलाई अस्पतालले उपलब्ध गराउँदै आएको एक्स-रे लगायतका जाँचमा पनि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

नि:शुक्ल स्वास्थ्य जाँच शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राधा भट्टराई, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. पवन पटेल, नेत्र रोग विशेषज्ञ डा. सन्तोष यादव, दन्त रोग डा. पल्लवी मिश्र, फिजियोथेरापी डा. इन्द्र भूषण मण्डल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परिक्षण गरेको सिंहले बताए ।

शिविर पश्चात् अस्पताल परिसरमै आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष वीरेन्द्र राज कँडेलले आजको दिनलाई रेडक्रस पर्साले पर्वको रूपमा मनाउने गरेको बताए । ‘आज नारायणी सेन्ट्रल अस्पतालले नि:शुल्क जाँच शिविर आयोजना गरेर हाम्रो पर्वको गरिमा बढाइदिएकोमा म अस्पतालको सम्पूर्ण टोली प्रति आभार प्रकट गर्न चाहन्छु,’ कँडेलले भने ।

कँडेलले पनि चिकित्सक र रेडक्रस एउटै रथको दुई पाङ्ग्रा रहेको कुरालाई दोहोर्‍याउँदै भने, ‘हामी र चिकित्सक दुवैले आ-आफ्नो ठाउँबाट जनताको सेवा नै गर्ने गरेका छौँ ।’ उनले अस्पतालसँगको सहकार्यमा अब नि:शुल्क जाँच शिविरलाई आफूहरूले जिल्लाको गाउँ गाउँसम्म पुर्‍याउने योजना बनाएको पनि जानकारी दिए  ।

एक फरक प्रसङ्गमा बोल्दै कँडेलले रेडक्रस सरकारको सहयोगी निकाय रहेको र यसलाई देशको संविधानको मर्म अनुसार बनाउन आफूहरूले छिट्टै विधान अधिवेशनको तयारी समेत गरिरहेको बताए । ‘रेडक्रसलाई संविधान अनुकूल बनाउन र समावेशिताको सिद्धान्तलाई आत्मसात् गर्ने हामी संस्थाको विधान संशोधनमा लागेका छौँ,’ कँडेलले थपे ।

नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्र मार्फत प्रत्येक महिना दुई हजार युनिट रगतको पूर्ति गरिरहेको जानकारी गराउँदै उनले भने, ‘हामी सबै समाजलाई रेडक्रस मार्फत केही दिनुपर्ने उद्देश्यका साथ लागेका छौँ । अरूहरूलाई पनि हामीसँग जोडिन आग्रह गर्दछु ।’ उनले नेपाल रेडक्रस सोसाइटीलाई नारायणी सेन्ट्रल अस्पतालले माया गर्दै आइरहेको र भविष्यमा पनि सहयोगलाई निरन्तर राख्ने आफ्नो विश्वास रहेको बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी पर्सा माइस्थान उपशाखाका अध्यक्ष मदन प्रसाद गुप्ताले विश्व रेडक्रस दिवसको अवसरमा अस्पतालले नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेर नयाँ इतिहास बनाएको बताए । ‘मलाई लाग्छ आज इतिहासमा पहिलो पटक विश्व रेडक्रस दिवसको अवसरमा कुनै अस्पतालले वीरगञ्जमा नि:शुल्क जाँच शिविर आयोजना गरेको छ,’ उनले भने, ‘यो हाम्रो लागी गर्भ गर्नुपर्ने विषय हो ।’

नारायणी सेन्ट्रल अस्पतालले आगामी वर्षहरूमा पनि विश्व रेडक्रस दिवसको अवसर पारेर नि:शुल्क स्वास्थ्य जाँच शिविर लगायतका कार्यक्रमहरू गर्ने घोषणा समेत गरेको बताउँदै थपे, ‘वीरगञ्जका अन्य अस्पताल र स्वास्थ्य संस्थाहरूले पनि नारायणी सेन्ट्रल अस्पतालको सिको गर्दै नमुना कामहरू गर्नु पर्छ । हामी सहकार्यका लागि सधैँ तयार छौँ ।’ उनले छिटै अस्पतालले माइस्थान उपशाखासँग मिलेर गहवामाई मन्दिरमा अर्को शिविर आयोजना गर्न लागेको समेत जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफले रेडक्रस जस्तो महान् र विशाल संस्थासँग मिलेर काम गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए । रेडक्रसको आफू पनि आजीवन सदस्य भएको जानकारी गराउँदै उनले भने, ‘हामी चिकित्सक र रेडक्रस कर्मीहरूको काम उस्तै उस्तै लाग्छ । उहाँहरूले पनि आफ्नो जीवन जनताको सेवामा बिताउनु हुन्छ र हामीले पनि त्यहीँ गर्ने गरेका छौँ ।’

रेडक्रससँग आबद्ध भएका व्यक्तिहरूले पदलाई आफ्नो जिम्मेवारी ठानेर काम गर्ने गरेको बताउँदै उनले थपे, ‘नारायणी सेन्ट्रल अस्पतालले आज विश्व रेडक्रस दिवसको अवसरमा स्वास्थ्य जाँच शिविर आयोजना गर्न पाउँदा मलाई गौरवान्वित महसुस भइरहेको छ ।’ उनले नेपालका सम्पूर्ण चिकित्सकहरूलाई नेपाल रेडक्रस सोसाइटीसँग जोडिन सुझाव पनि दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका शिवनाथ यादव, अस्पतालका लक्ष्मीकान्त मण्डल, कृष्णा पटेल, राजेश पटेल, मुकेश मण्डललगायतको पनि उपस्थिति रहेको थियो ।

Back to top