×

वीरगञ्ज । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ आज छिचोलिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा कार्यक्रम गरी सुरुङ छिचोलिने सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको सङ्गमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रू’ अर्थात् छिचोल्ने काम हुनेछ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये ‘ब्रेक थ्रू’ का लागि केही सेन्टिमिटर मात्रै खन्न बाँकी राखिएको छ ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म हो । सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् ।

२०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर आयोजना निर्माणको थालनी भएको थियो ।

Back to top