×

वीरगञ्ज । बाराको कलैयामा साढे पाँच महिनादेखी यातायात व्यवस्था कार्यालय संचालनमा आएसँगै नागरिकले खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ ।

कलैयामै यातायात कार्यालय स्थापना भएपछि विभिन्न सेवाका लागि सहज बन्दै गएको छ । जिल्लामै कार्यालय स्थापना हुँदा बाराबासीले अब सवारी अनुमति पत्र, सवारी दर्ता, नविकरण जस्ता काममा सहज भएको छ । सेवाका लागि अन्य जिल्लामा जानुपर्ने र महिनौ सम्म कुर्नुपर्ने समस्या हटेको छ ।

अब बारा बासीले नयाँ लाईसेन्स लिनदेखी सवारी नविकरण जस्ता कामहरु गर्न बाहिर जानु नपर्ने भएको हो । कार्यालयमा सेवा लिनेहरुको भिड बढेको छ ।

यातायात व्यवस्था कार्यालय कलैया बाराले साढे पाँच महिनामा २ करोड १४ लाख २३ हजार ७ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ३ गङ्गापुरमा रहेको शिक्षा तालीम केन्द्रको अडिटोरियम हलमा मंसिर २५ गते यातायात कार्यालयको स्थापना भएको हो ।

कार्यालयले फागुन २३ गते देखि नयाँ तथा वर्ग थप सवारीचालक अनुमति पत्रको लागि अनलाइन दरखास्त आहवान गरेको थियोे । चैत्र ५ गतेदेखि सवारी चालक अनुमति पत्रको लागि लिखित तथा प्रयोगात्मक परिक्षा संचालनको सुरुवात भएको कार्यालयका प्रमुख महम्मद हुसैनले बताए ।

Back to top