×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–३२ टेढा (सेमरा) स्थित श्रीमति मनमिश्र आधारभूत विद्यालयका बालविकास तहमा अध्ययनरत बालबालिकाको सहज अध्ययन वातावरणका लागि उपकार सेवा नेपालले चार थान सिलिङ फ्यान सहयोग गरेको छ।

विद्यालयका दुई वटा कक्षाकोठामा जडान गर्ने उद्देश्यले उपलब्ध गराइएका सिलिङ फ्यान एक कार्यक्रमबीच विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो। विद्यालयमा बालविकास तहमा अध्ययनरत ९८ जना विद्यार्थीले यस सहयोगबाट प्रत्यक्ष लाभ लिने जनाइएको छ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारूलगायत विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालबालिकाले सहज, सुरक्षित र अनुकूल वातावरणमा अध्ययन गर्न पाउनु प्रत्येक विद्यालयको प्राथमिक आवश्यकता रहेको उल्लेख गर्दै उपकार सेवा नेपालको सहयोगले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी र विद्यार्थीमैत्री बन्ने विश्वास व्यक्त गरे।

उपकार सेवा नेपालले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Back to top