×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमा सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्था लागू भएसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन, नवीकरण तथा राजस्व भुक्तानीलगायतका सबै प्रक्रिया अनलाइनमार्फत गर्न सकिने भएको छ।

विभागका अनुसार अब सेवाग्राहीले फारम भर्न, बायोमेट्रिक तथा औंठाछाप दिन र राजस्व बुझाउन यातायात कार्यालय वा बैंकमा लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। सेवाग्राहीहरू अब स्वास्थ्य परीक्षण (मेडिकल चेकअप) का लागि मात्रै सम्बन्धित यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित भए पुग्नेछ।

डिजिटल सेवा थप प्रभावकारी र सहज बनाउन विभागले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले आफ्नो प्रदेशको आधिकारिक पोर्टलमार्फत आवश्यक सेवा सहज रूपमा लिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागका निर्देशक केशव खतिवडाका अनुसार नयाँ प्रणालीमा राष्ट्रिय परिचयपत्र र नागरिक एपलाई समेत एकीकृत गरिएको छ। सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर (QR) कोड स्क्यान गरेपछि आवेदन फारममा व्यक्तिगत विवरण स्वतः ‘अटो-फिल’ हुने सुविधा उपलब्ध गराइएको छ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने साबिककै प्रक्रियाअनुसार आवश्यक विवरण आफैँ भरेर आवेदन दिन सक्ने व्यवस्था यथावत् रहेको उनले जानकारी दिए।

विभागका अनुसार लाइसेन्ससम्बन्धी प्रशासनिक तथा वित्तीय प्रक्रिया पूर्ण रूपमा अनलाइनमा गएपछि सेवा प्रवाह थप छिटो, सहज, पारदर्शी र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ।

वर्षौँदेखि यातायात कार्यालयमा देखिँदै आएको बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य गर्न नयाँ प्रणाली प्रभावकारी हुने विभागको विश्वास छ। प्रणालीको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न आवश्यक प्राविधिक टोलीलाई समेत तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।

Back to top