×

बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवा घर भई केही दिनदेखि चौरहियास्थित मामाघरमा बस्दै आएकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामाघर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा खेल्ने क्रममा जमेको पानीमा डुबेर बालिका बेहोस भएकी थिइन्। परिवारका सदस्यहरूले तत्कालै उद्धार गरी बाहिर निकाले पनि पानी धेरै पसेका कारण उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी साँझ ६ः१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक (असई) रामविद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति गम्भीर रहेकाले जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का टोली तथा फरेन्सिक विज्ञसहितको विशेष टोलीसमेत परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलको प्राविधिक परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, मनसुनका बेला घर वरपर जमेको पानी, खाडल तथा धान खेतजस्ता स्थानमा साना बालबालिकालाई एक्लै नछाड्न जिल्ला प्रहरी कार्यालय बाराले अभिभावकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Back to top