वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ।
राजधानीस्थित पशुपतिनाथ मन्दिरसहित प्रमुख शिव मन्दिरहरूमा बिहानैदेखि जलाभिषेक, पूजाआराधना, व्रत तथा दर्शनका लागि श्रद्धालुको घुइँचो लागेको हो।
भगवान् शिवलाई अत्यन्त प्रिय मानिने साउन महिनामा विशेषगरी सोमबारको दिन व्रत बसेर शिवको पूजा गर्ने परम्परा रहँदै आएको छ।
सनातन धर्मअनुसार यस दिन श्रद्धापूर्वक शिवको आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि आउने धार्मिक विश्वास छ।
धर्मशास्त्रले साउन महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समयका रूपमा व्याख्या गरेको छ। यही विश्वासका कारण प्रत्येक वर्ष साउनका सोमबारहरूमा देशभरका शिवालयमा विशेष पूजा–आराधना हुने गरेको छ।
साउन महिना भगवान् शिवसँग जोडिनुको धार्मिक आधार समुद्रमन्थनको प्रसङ्गसँग सम्बन्धित छ।