×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । कालिकामाई गाउँपालिका–२ अन्तर्गत गदियानीस्थित करिब २५ वर्षदेखि जीर्ण अवस्थामा रहेको सडक अझैसम्म ढलान हुन नसकेको भन्दै स्थानीयवासीले जनप्रतिनिधि तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसिया तथा सम्बन्धित निकायलाई पटक–पटक सडक निर्माणका लागि अनुरोध गरिए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।

स्थानीयवासीले भेडिहारी क्षेत्रका अधिकांश गल्ली तथा ८ फिट चौडाइसम्मका सडकहरू ढलान भइसकेको उल्लेख गर्दै १२ फिट चौडाइ भएको गदियानीको मुख्य सडक भने वर्षौंदेखि निर्माण हुन नसक्दा आफूहरू विभेदमा परेको महसुस भएको बताएका छन्।

उनीहरूका अनुसार वर्षायाममा सडक हिलाम्मे हुने र सुक्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याका कारण दैनिक आवतजावतमा कठिनाइ हुने गरेको छ। यसले विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा सर्वसाधारणलाई विशेष सास्ती भोग्नुपरेको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सडकको शीघ्र स्तरोन्नति तथा ढलान गरी सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सोनालाल चौरसिया तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

उनीहरूले आधारभूत पूर्वाधार विकास नागरिकको मौलिक आवश्यकता भएकाले जनप्रतिनिधिहरूले समस्या समाधानमा संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्दै सडक निर्माण कार्य यथाशीघ्र अघि बढाउनुपर्ने बताएका छन्। साथै सम्बन्धित निकायले स्थानीयको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

Back to top