बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गर्दै न्यायको माग लिएर हिँडेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बाराको निजगढ पुगेका छन्।
मिटरब्याजबाट पीडित बनेका नागरिकहरूले आफ्ना समस्या र मागहरू सरकारसमक्ष प्रत्यक्ष रूपमा पुर्याउने उद्देश्यले सुरु गरेको ‘पैदल न्याय मार्च’ का क्रममा गृहमन्त्री गुरुङ स्वयं निजगढ पुगेर पीडितहरूसँग छलफल गरेका हुन्।
बिहानै गृहमन्त्री आफूहरूलाई भेट्न आउने जानकारी पाएपछि काठमाडौंतर्फ अघि बढिरहेको पीडितहरूको टोली निजगढमै रोकिएको थियो। उनीहरू गएराति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र पीडितबीच आमनेसामने बसेर विस्तृत छलफल भइरहेको छ।
छलफलमा मिटरब्याज पीडितहरूले भोग्दै आएका समस्या, न्याय प्राप्तिका माग तथा त्यसको समाधानका सम्भावित उपायबारे विचार–विमर्श भइरहेको जनाइएको छ।
मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार सरकार र पीडित पक्षबीच माग सम्बोधन, कानुनी प्रक्रिया तथा दीर्घकालीन समाधानका विभिन्न विकल्पबारे सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको छ।
मिटरब्याजीहरूको चंगुलबाट मुक्त भई न्याय पाउने आशामा लामो दूरी पैदल यात्रा गरिरहेका पीडितहरूले गृहमन्त्रीसँग भएको प्रत्यक्ष संवादबाट ठोस निष्कर्ष र व्यवहारिक समाधान निस्कने अपेक्षा गरेका छन्।
सरकारका तर्फबाट गृहमन्त्री स्वयं पैदल यात्रामा रहेका पीडितहरूलाई भेट्न मार्गमै पुगेर संवाद गर्नु मिटरब्याज समस्याप्रति सरकारको चासो र समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि छलफलको अन्तिम निष्कर्ष भने सार्वजनिक हुन बाँकी रहेको छ।