वीरगञ्ज । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले विभिन्न ६ बुँदे माग अघि सार्दै जनकपुरधामदेखि काठमाडौंसम्मको ‘न्याय मार्च’ नामक पैदल यात्रा सुरु गरेको छ। बिहीबारदेखि सुरु भएको उक्त यात्रामा दुई सयभन्दा बढी मिटरब्याज पीडित सहभागी भएका छन्।
पूर्वनिर्धारित कार्यक्रमअनुसार मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिका अध्यक्ष अवधेश कुशवाहा को नेतृत्वमा जनकपुरधामस्थित तिरहुतिया गाछीबाट पैदल यात्रा प्रारम्भ भएको हो। करिब १५ दिनको यात्रा पूरा गरी काठमाडौं पुग्ने लक्ष्य राखिएको अध्यक्ष कुशवाहाले जानकारी दिए।
उनका अनुसार काठमाडौं पुगेर मिटरब्याज पीडितहरूले आफ्ना समस्या र माग सरकारसमक्ष प्रत्यक्ष रूपमा राख्नेछन्। सरकारले मागप्रति सुनुवाइ नगरे धर्ना, प्रदर्शन तथा अन्य सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने उनले बताए।
अध्यक्ष कुशवाहाले सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि हालसम्म तीन वटा आयोग र एउटा कार्यदल गठन गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाले तेस्रो पटक न्याय मार्च आयोजना गर्नुपरेको बताए।
आन्दोलन समितिका सचिव मनोज पासवान ले सरकारले पीडितको पक्षमा ठोस कदम नचाले देशव्यापी संघर्षलाई थप सशक्त बनाइने चेतावनी दिए। उनका अनुसार काठमाडौंमा पनि आवश्यक परे निरन्तर धर्ना, प्रदर्शन तथा दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ।
आन्दोलन समितिले फर्जी लिखत खारेज गर्न, मिटरब्याजविरुद्ध प्रभावकारी कानुन निर्माण गर्न, मिटरब्याजसम्बन्धी मुद्दा हेर्ने न्यायाधिकरण गठन गर्न, सुदखोरहरूको सम्पत्ति छानबिन गर्न, पीडितको सम्पत्ति फिर्ता गर्न तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग अघि सारेको छ।
यसअघि अध्यक्ष अवधेश कुशवाहाको अध्यक्षतामा चितवनमा बसेको बैठकले न्याय मार्चलाई पूर्ण रूपमा शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकमा संयुक्त जनअधिकार मोर्चाका प्रतिनिधि, भगिनी संगठनका सदस्य तथा सचिवालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
आन्दोलन समितिले मधेश प्रदेशको राजधानी जनकपुरधामबाट संघीय राजधानी काठमाडौंसम्मको पैदल यात्रामार्फत मिटरब्याज पीडितको समस्या राष्ट्रिय बहसको विषय बनाउने उद्देश्य लिएको जनाएको छ। समितिले यसअघि पनि मिटरब्याज पीडितको न्यायका लागि प्रदर्शन, अदालत घेराउ तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको उल्लेख गरेको छ।