वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले न्यूनतम पारिश्रमिक, श्रम अधिकार तथा प्रशासनिक सुधारको माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा कर्मचारीहरूले वीरगञ्जको घण्टाघर चोकमा फोहोर थुपारेर प्रदर्शन गरेका हुन्।
मुख्य चोकमै फोहोर थुपारेर विरोध जनाएपछि केही समयका लागि आवागमन प्रभावित भएको थियो भने महानगरको सरसफाइ व्यवस्थापनसमेत प्रभावित बनेको छ।
आन्दोलनरत कर्मचारीहरूले दैनिक ज्याला कम्तीमा एक हजार रुपैयाँ तथा मासिक पारिश्रमिक ३० हजार रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन्। बढ्दो महँगीका कारण हाल प्राप्त पारिश्रमिकले दैनिक जीवनयापन गर्न कठिन भएको उनीहरूको भनाइ छ।
उनीहरूले प्रत्येक महिनाको १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गर्नुपर्ने, श्रम ऐनअनुसार सातामा एक दिन साप्ताहिक बिदा सुनिश्चित गर्नुपर्ने तथा छठ र होलीजस्ता प्रमुख सांस्कृतिक पर्वमा विशेष बिदाको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन्।
यस्तै, कुनै कर्मचारीको परिवारमा मृत्यु वा विवाहजस्ता विशेष अवस्था परेमा १० हजार रुपैयाँ पेस्की उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, सबै सरसफाइ कर्मचारीलाई पोसाक (ड्रेस) तथा आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।
आन्दोलनका क्रममा कर्मचारीहरूले सरसफाइ व्यवस्थापनमा संलग्न केही ‘नाइके’ (सुपरभाइजर) हरूमाथि अनियमितता र श्रम शोषण गरेको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार सानातिना वा झुटा आरोप लगाएर कर्मचारीलाई कामबाट हटाउने र केही दिनपछि रकम लिएर पुनः काममा फर्काउने प्रवृत्ति रहेको छ। यस्ता गतिविधिमा संलग्नमाथि छानबिन गरी कानुनी कारबाही गर्न उनीहरूले महानगर नेतृत्वसँग माग गरेका छन्। यी आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
यता, वीरगञ्जको मुख्य व्यापारिक केन्द्र घण्टाघर क्षेत्रमा फोहोर थुप्रिएपछि दुर्गन्ध फैलिने तथा सर्वसाधारणलाई असहज हुने अवस्था सिर्जना भएको छ।
वीरगञ्ज महानगरपालिकाले आन्दोलनरत सरसफाइ कर्मचारीसँग संवादमार्फत समस्या समाधानको प्रयास भइरहेको जनाएको छ। महानगरका अनुसार कर्मचारीका मागबारे आवश्यक छलफल गरी सहमतिको प्रयास गरिने तथा बजार क्षेत्रको सरसफाइलाई यथाशीघ्र नियमित बनाइनेछ।