×

फाइल तस्बिर ।

वीरगञ्ज । नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा उपस्थित गराएको छ ।

मङ्गलवार बिहान पर्साको ठोरी गाउँपालिकास्थित ठोरी भिलेज रिसोर्टबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी अदालतमा बुझाएको हो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतका अनुसार अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी मुद्दामा ८ जेठमा सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साथै, नागरिकता लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पनि पक्राउ पुर्जी जारी गरिएको थियो ।

यसअघि पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह स्वेच्छाले अदालतमा उपस्थित भएका थिए । तर, मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसकेपछि उनी फर्किएका थिए। त्यसपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

मेयर सिंहमाथि रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरीका रूपमा देखाएर फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनकी कान्छी श्रीमती बताइने रिता भट्टराई र वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार २०८० साल माघमा दर्ता भएको उजुरीका आधारमा सरकारी कागजात किर्ते र नागरिकता किर्ते सम्बन्धी चार वटा मुद्दा दायर भएका छन् । तीमध्ये लिखत सम्बन्धी कसुरमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । अदालतले मेयर सिंहलाई म्याद थपका लागि इजलासमा पेस गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Back to top