वीरगञ्ज । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ ।
निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य प्रकृतिका बिरामीलाई पनि आकस्मिक अन्तर्गत उपचार सेवा प्रदान गरी दाबी पेस गरिए त्यस्ता भुक्तानीहरू नहुने बताएको हो ।
‘सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेस गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगरिने,’ बोर्डले सूचना जारी गर्दै भनेको छ ।
बोर्डले आम सेवाग्राहीहरूलाई पनि सूचनाको पूर्ण पालना गरी सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिए बमोजिमको सेवा प्राप्त गर्न भनेको छ ।
कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न र त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न बिमा बोर्डले भनेको छ ।