वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार बिना कारण झन्डै ९ घण्टा आफ्नो नियन्त्रणमा राखेर साँझ रिहा गरिदिएको छ ।
सोमबार बिहान १०:३० बजेतिर पर्सा जिल्ला अदालत परिसर अगाडिबाट प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेकोमा साँझ ७:३० बजेतिर रिहा गरेको हो ।
पर्सा जिल्ला अदालतबाट मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा त्यसैबारेमा कानुनी प्रक्रिया बुझ्न सोमबार बिहान घिमिरे अदालतनजिकै रहेको अधिवक्ता कमलमोहन पोखरेलको कार्यालयमा गएका बेला उनलाई सादा पोसाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकलमा बसाई जिल्ला प्रहरी कार्यालयमा लगेका थिए ।
तर प्रहरी कार्यालयमा झन्डै ९ घण्टा राखेर सोधपुछ गर्दा पनि घिमिरेलाई प्रहरी नियन्त्रणमा राख्ने कुनै आधार प्रमाण नभेटिएपछि प्रहरीले साँझ रिहा गरिदिएको प्रहरी श्रोतले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले भने पक्राउ पुर्जी जारी भएका मेयर सिंह निकट घिमिरे भएका कारण सिंहको बारेमा जानकारी लिन सामान्य सोधपुछ गर्नका लागि प्रहरीले घिमिरेलाई ल्याएको बताए । उनले भने, “मेयरसाबको बारेमा हामीले उहाँसँग सोधपुछ गर्यौ, तर उहाँ विरुद्ध कुनै कसुर नभएका कारण प्रहरीमा राखी राख्नु पर्ने कारण केही थिएन, त्यसैले साँझ घर पठाइ दियौँ ।”
यता दिनभर प्रहरी नियन्त्रणमा रहेर साँझ छुटेका घिमिरेले भने मेयर सिंहकै बारेमा सोधपुछका लागि प्रहरीले आफूलाई प्रहरी कार्यालयमा लिएर गएको बताए । उनले भने, “दिनभर राखे, साँझ छोडिदिए ।”
नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध गत मङ्गलवार पक्राउ पुर्जी जारी गरेको थियो ।
गत मङ्गलवार (जेठ १२ गते०) पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलिपल्टै बुधवार बिहान मेयर सिंह आफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन अदालत प्रशासन कक्षमा आफै पुगेका मेयर सिंहले आफूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्याउन स्वेच्छाले आफू अदालतमा उपस्थित भएको बताएका थिए । तर त्यस दिन मुद्दाको चाप बढी भएका कारण आफूविरुद्धको मुद्दाको सुनुवाइ सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि अदालतबाट फर्किएको उनले बताएका थिए ।
त्यस दिन मेयर सिंहले आफू अदालतको समन्वयमै रहेको भन्दै सार्वजनिक बिदा सकिएपछि फेरि आफै अदालतमा उपस्थित हुने जानकारी अदालत प्रशासनलाई गराएर अदालतबाट फर्किएको बताएका थिए ।
पर्सा जिल्ला अदालतले मङ्गलवार नागरिकता लिखत सम्बन्धी मुद्दामा मेयर सिंह, उनकी कान्छी श्रीमती सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसुर गरेको आरोपमा दायर मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जबकि मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।
सरकारी वकिलको कार्यालयका अनुसार वीरगञ्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा मेयर सिंहविरुद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले गत मङ्गलवार बताएका थिए ।