×

वीरगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटलाई ‘लोकप्रियतावादी शब्दजाल’को संज्ञा दिँदै यसले मुलुकलाई थप ऋणको भारमा डुबाउने दाबी गरेको छ।

पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटले आम नेपाली जनताको थाप्लोमा ६ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ थप ऋणको भार थप्ने उल्लेख गरेका छन्।

वक्तव्यमा २१ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याइए पनि विकास निर्माणका लागि अपेक्षाकृत न्यून बजेट विनियोजन गरिएको र विगतका ऋण तिर्न ठूलो रकम खर्चिनुपर्ने अवस्थाले अर्थतन्त्रलाई झन् परनिर्भर बनाउने दाबी गरिएको छ।

पार्टीले नेपाली पुँजीपतिहरूलाई देशभित्र लगानी गरी राष्ट्रिय पुँजीको विकास गर्ने वातावरण सिर्जना गर्नुको सट्टा विदेशमा लगानी गर्न अनुमति दिने नीति बजेटमा समेटिएको भन्दै आपत्ति जनाएको छ। विकासका नाममा जनतालाई आन्तरिक तथा बाह्य ऋणको भारी बोकाउन खोजिएको आरोप लगाउँदै यसले देशलाई नवऔपनिवेशिक प्रभावतर्फ धकेल्ने दाबी पनि गरिएको छ।

वक्तव्यमा कृषि तथा औद्योगिक उत्पादन वृद्धि, सुकुम्वासी तथा श्रमजीवी वर्गका समस्या समाधान, बेरोजगारी न्यूनीकरण तथा युवा पलायन रोक्न आवश्यक ठोस र वैज्ञानिक योजना बजेटमा समावेश नभएको उल्लेख गरिएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले नवउदारवादी आर्थिक सिद्धान्तमा आधारित रहेको दाबी गर्दै उक्त बजेटले राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्नुका साथै बढ्दो महँगीलाई थप प्रोत्साहन दिने ठहर गरेको छ।

पार्टीले जनमुखी, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ केन्द्रित नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै वर्तमान बजेटले त्यस दिशामा अपेक्षित योगदान दिन नसक्ने निष्कर्ष निकालेको छ।

Back to top