×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

बारा । बारा क्षेत्र नम्बर–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् अरबिन्द साहको विरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार बारा निवासी निजामुद्दिन अन्सारीलाई सांसद् साहले दिएको उजुरीका आधारमा बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो। सांसद् साहले अन्सारीले सामाजिक सञ्जालमार्फत चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै आपत्तिजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका थिए।

बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अन्सारीलाई अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

‘हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ। कसुरको प्रकृति अध्ययन गरी अदालतमार्फत आवश्यक प्रक्रिया अघि बढाइनेछ,’ एसपी कुँवरले बताए।

प्रहरीका अनुसार विद्युतीय कारोबार ऐनले घृणा, द्वेष तथा अफवाह फैलाउने गतिविधिलाई निषेध गरेको छ। सोही कानुनी व्यवस्थाअनुसार प्राप्त उजुरीका आधारमा अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अन्सारीले फेसबुकमार्फत सांसद् साहले चुनावी प्रतिबद्धताअनुसार काम नगरेको आरोप लगाउँदै कालो मसी दल्ने चेतावनीसहितका पोस्ट सार्वजनिक गरेका थिए। ती पोस्टलाई आधार बनाएर सांसद् साहले कानुनी उपचार खोजेका हुन्।

यता अन्सारी निकट स्रोतका अनुसार उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरे पनि सांसद् साहविरुद्ध कुनै भौतिक विरोध कार्यक्रममा सहभागी भएका थिएनन्। नेपाली भाषा उनको पहिलो भाषा नभएकाले अभिव्यक्तिमा केही भाषागत त्रुटि भएको हुन सक्ने दाबी गर्दै केवल सामाजिक सञ्जालमा लेखिएको विषयकै आधारमा पक्राउ गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्नसमेत उठाइएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा व्यक्त गरिएका अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताको सीमा र विद्युतीय कारोबार ऐनको प्रयोगबारे बहस सुरु भएको छ।

Back to top