वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छप्कैया सीसोबारीस्थित एक घरमा सशस्त्र प्रहरीको टोलीले छापा मारेपछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ । गोप्य सूचनाको आधारमा गरिएको उक्त कारबाहीमा कुनै अवैध सामग्री फेला नपरेपछि स्थानीयवासी तथा घरपरिवार आक्रोशित बनेका हुन् ।
स्थानीय सलिम मियाँको घरमा सशस्त्र प्रहरीका डिएसपी विकास अधिकारी नेतृत्वको टोलीले छापा मारेको बताइएको छ । टोलीले घरमा खानतलासी गरे पनि शङ्कास्पद वा अवैध सामान फेला पार्न नसकेको स्थानीयले बताएका छन् ।
छापामारीपछि स्थानीयवासीले निर्दोष नागरिकमाथि बारम्बार गरिने यस्ता कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । “सूचनाको भरमा घरमा पसेर दुःख दिने काम भइरहेको छ,” एक स्थानीयले भने, “केही नभेटिएपछि पनि कसैले जिम्मेवारी लिँदैन, तर परिवार र छिमेकमा त्रास फैलिन्छ ।”
घरपरिवारले पनि कुनै प्रमाण वा आधारबिना घरमा छापा मार्दा आफूहरू मानसिक तनावमा परेको गुनासो गरेका छन् । स्थानीयका अनुसार पछिल्लो समय सीमा क्षेत्र तथा भन्सार नाकासँग जोडिएका बस्तीहरूमा सूचनाको आधारमा हुने छापामारी बढ्दै गएको छ, जसका कारण सर्वसाधारणमा डर र अन्योल बढेको छ ।
स्थानीयवासीले सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई विश्वसनीय सूचनाको आधारमा मात्रै कारबाही गर्न आग्रह गरेका छन् । उनीहरूले गलत सूचनाका आधारमा गरिने कारबाहीले निर्दोष नागरिकको प्रतिष्ठा र सामाजिक जीवनमा असर पुग्ने बताएका छन् ।
घटनाबारे सशस्त्र प्रहरी वा सम्बन्धित सुरक्षा निकायले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन ।