श्रीलंकाको कोलम्बोको बाहिरी क्षेत्र वेल्लावत्तेस्थित शेल पेट्रोल पम्पमा सवारीसाधनका लागि साप्ताहिक इन्धन कोटाबारे जानकारी दिने सूचना । तस्वीर : एएफपी/रासस
कोलम्बो (श्रीलङ्का) । पश्चिम एसिया (मध्यपूर्व) मा जारी द्वन्द्वका कारण देखिएको इन्धन अभाव व्यवस्थापन गर्न श्रीलङ्का सरकारले हरेक बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मङ्गलवार जारी गरिएको सूचनाअनुसार यही मार्च १८ (भोलि) देखि हरेक बुधवार सरकारी कार्यालय बन्द रहनेछन् । यससँगै विद्यालय, विश्वविद्यालय तथा अदालतमा पनि बुधवार बिदा दिइएको छ ।
आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीका अनुसार स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक क्षेत्रहरूमा भने यो व्यवस्था लागू हुने छैन ।
इन्धन बचत गर्ने उद्देश्यले सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रमहरू स्थगित गरेको छ । निजी क्षेत्रलाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन अनुरोध गरिएको छ ।