आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज घरलु टोली भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
विश्व क्रिकेटका दुई महारथीबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ। सुपर एट अन्तर्गत समूह २ मा उत्कृष्ट प्रदर्शन गरेको इङ्ल्याण्ड र समूह १ मा हारका बाबजुद पुनरागमन गरेको साबिक विजेता भारत चौंथो पटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन्।
सुपर एटको अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध रोमाञ्चक जित निकाल्दै भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
सूर्यकुमार यादवको कमान्डमा रहेको साबिक विजेता भारत यसपटक घरेलु मैदानमा उपाधि रक्षा गर्ने दाउमा छ। अर्कोतर्फ, ह्यारी ब्रुकको कप्तानीमा रहेको इङ्ल्याण्ड सुपर एटमा अपराजित रहँदै उच्च मनोबलका साथ मैदान उत्रनेछ।
यी दुईबीच टी–२० ढाँचामा अहिलेसम्म २९ खेल भएका छन्। जहाँ भारतले १७ खेल जित्दा १२ खेल इङ्ल्याण्डको पक्षमा छ। यो फर्म्याटको विश्वकपमा यी दुईबीच ५ खेल भए। यसमा भारतले ३ र इङ्ल्याण्डले २ खेल जितेका छन्।
विश्वकपमा मात्र यी दुई लगातार तेस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। २०२२ मा इङ्ल्याण्डले १० विकेटको शान्दार जित हात पार्दा गत संस्करणमा बदला लिँदै भारतले ६८ रनको फराकिलो जित हात पारेको थियो।
भारत र इङ्ल्याण्डबीचको यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई सन् २०२२ र २०२४ को बदलाको शृङ्खला जस्तै बनेको छ।
यी दुईबीचको विजेताले आगामी आइतबार न्युजिल्याण्डसँग उपाधिका लागि भिड्नेछ।