×

 टी–२० विश्वकप अन्तरगत सुपर एटका अन्तिम २ खेल आज हुँदैछन्।  ‘गर या मर’को स्थितिबाट वेस्ट इन्डिज र भारत सेमिफाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छन्। 

सुपर एटको समूह–१ को निर्णायक खेल कोलकाताको इडेन गार्डेनमा साँझ सवा ७ बजे हुनेछ।  यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनल स्थान सुरक्षित गर्नेछन्। हार्ने टिम सुपर एटबाटै बाहिरिनेछ। यो समूहबाट दक्षिण अफ्रिका लगातार जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरिसकेको छ।

समूहमा भारत र वेस्ट इन्डिज दुवैको समान दुई अंक छ । तालिकामा भारतभन्दा वेस्ट इन्डिजको नेट रनरेट बलियो रहेको छ। दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पछिल्लो खेलमा नौ विकेटले हराएको थियो।

यो हारपछि वेस्ट इन्डिजले भारतसँगको खेल कुर्नुपरेको हो। यही जितपछि भारतको पनि सम्भावना खुलेको थियो। दक्षिण अफ्रिकाविरुद्ध जित निकालेको अवस्थामा वेस्ट इन्डिज पनि अन्तिम चारमा पुग्ने थियो। 

वेस्ट इन्डिजले १० वर्षअघि इडेन गार्डेनमा फाइनल जित्दै उपाधि उचालेको थियो। भारत सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएपछि दबाबमा आएको थियो। 

दोस्रो खेलमा भने जिम्बावेलाई ७२ रनले हराउँदै सम्भावना बढायो। त्यसअघि आजै दक्षिण अफ्रिका र जिम्बाबेबीचको खेल हुनेछ।

Back to top