×

 टी–२० विश्वकपमा पाकिस्तानले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। क्यान्डी पल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा हुने प्रतिस्पर्धाले पाकिस्तान सेमिफाइनलमा पुग्ने वा न्यूजिल्याण्डले टप–४ मा स्थान बनाउने भन्ने तय गर्नेछ।

नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुने छ। हिजो भएको खेलमा इंगल्याण्डले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने आशा जिवितै छ। अब पाकिस्तानले श्रीलंकाविरुद्ध कम्तिमा ६४ रनको जित निकाल्नुपर्नेछ अथवा १३.१ ओभरभित्रै लक्ष्य पूरा गर्नुपर्नेछ।

श्रीलंका र पाकिस्तानबीच हालसम्म २९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा पाकिस्तानले १७ र श्रीलंकाले १२ खेलमात्रै जितेको छ। दुबै टोली अन्तिमपटक २०२६ मा दाम्बुलाको मैदानमा प्रतिस्पर्धा गरेका थिए, जहाँ श्रीलंकाले १४ रनको जित निकालेको थियो। 

यस प्रतियोगितामा श्रीलंकाका पथुम निसान्काले सर्वाधिक रन बनाएका छन्। उनले ६ खेलमा १५२.९४ को स्ट्राइक रेटमा २०८ रन जोडेका छन् भने उत्कृष्ट प्रदर्शन एक इनिङमा नटआउट १०० रन रहेको छ। त्यस्तै बलिङतर्फ महिश थिक्क्षणा टोलीका शीर्ष विकेट खेलाडी हुन् उनले ६ खेलमा ७.१९ को इकोनोमीमा रन खर्चिँदै ११ विकेट लिएका छन्। 

यसैगरी, पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक रन बनाएका छन्। उनले ६ खेलमा १५८.१ को स्ट्राइक रेटमा २८३ रन जोडेका छन् जसमा उनको उत्कृष्ट स्कोर १०० रहेको छ। 

त्यसैगरी, उस्मान तारिक पाकिस्तानका लागि सर्वाधिक विकेट लिने बलर हुन्। उनले ५ खेलमामात्र १० विकेट लिएका छन्।

Back to top