रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्। रुसी सञ्चारमाध्यम आरटीका अनुसार राष्ट्रपति पुटिनले प्यालेष्टाइनसँगको विशेष सम्बन्धलाई दृष्टिगत गर्दै यस अभियानका लागि एक अर्ब अमेरिकी डलर योगदान गर्ने घोषणा समेत गरेका छन्।
सो रकम अघिल्लो अमेरिकी प्रशासनले रोक्का गरेको रुसी सम्पत्तिबाट उपलब्ध गराउने पुटिनको प्रस्ताव छ । बाँकी कोषलाई युद्ध प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा प्रयोग गर्न सकिने उनले बताए। यस विषयमा थप छलफलका लागि भोलि मस्कोमा प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बास र अमेरिकी प्रतिनिधिहरूबीच वार्ता हुने कार्यक्रम छ ।
यता, स्विट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा बोल्दै राष्ट्रपति ट्रम्पले पुटिनलाई निम्तो दिनुको बचाउ गरेका छन्। पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले विश्वका शक्तिशाली र प्रभावकारी मुलुकहरूलाई समेट्ने उद्देश्यले पुटिनलाई सहभागी गराउन लागिएको स्पष्ट पार्नुभयो। ट्रम्पले कतिपय पात्र विवादित भए पनि नतिजा निकाल्न उनीहरूको प्रभाव महत्वपूर्ण हुने तर्क गरेका छन्।