अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र ग्रीनल्याण्ड खरिद गर्ने प्रस्ताव पुनः अघि सारेपछि वासिङ्टन र बेइजिङबीच नयाँ कूटनीतिक युद्ध सुरु भएको छ।
ट्रम्पले पछिल्लो पटक यसलाई अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक रणनीतिका लागि अपरिहार्य कदम भन्दै खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
ट्रम्पको यस कदमप्रति चिनियाँ राष्ट्रपति सी जिनपिङले कडा प्रतिक्रिया दिएका छन्। बेइजिङले यसलाई आधुनिक उपनिवेशवादको पुनरावृत्ति भन्दै आर्कटिक क्षेत्रमा अमेरिकाको विस्तारवादी नीतिको विरोध गरेको छ।
चीनले ग्रीनल्याण्डको खनिज र समुद्री मार्गमा आफ्नो पनि चासो रहेको स्पष्ट पार्दै यसलाई कसैको निजी सम्पत्ति नठान्न चेतावनी दिएको छ। यसैबीच, डेनमार्क सरकारले ग्रीनल्याण्ड बिक्रीका लागि उपलब्ध नरहेको स्पष्ट पारिसकेको छ।
यद्यपि, अमेरिकाले त्यहाँ सैन्य उपस्थिति बलियो बनाउन खोज्नु र चीनले पोलार सिल्क रोडमार्फत् लगानी बढाउनुले यो टापु विश्व राजनीतिको केन्द्रमा आएको छ। प्रचुर प्राकृतिक स्रोत र बरफ पग्लिएसँगै खुल्ने नयाँ व्यापारिक मार्गका कारण यी दुई शक्तिशाली देशबीच तानातान बढेको हो।
यो होडबाजीले आगामी दिनमा वासिङ्टन र बेइजिङबीचको व्यापारिक सम्बन्धलाई थप तनावपूर्ण बनाउने देखिएको छ।