×

भेनेजुएलाकी विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले आफ्नो पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पण गरेकी छिन्। 
ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा मचादोले भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पले पुर्‍याएको अद्वितीय प्रतिबद्धताको सम्मानस्वरूप पदक उनलाई हस्तान्तरण गरेकी हुन् गत अक्टोबरमा भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि गरेको संघर्षका कारण मचादोलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो।

यद्यपि, नोबेल समितिले पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने नियम रहेको बताएको छ। ट्रम्पले यसलाई महान सम्मान भन्दै सामाजिक सञ्जालमार्फत मचादोको प्रशंसा गरेका छन्। यो कदमलाई भेनेजुएलामा जारी राजनीतिक संकट र अमेरिकी समर्थनको सांकेतिक कडीका रूपमा हेरिएको छ। यसैबीच, इरानमा प्रदर्शनकारीहरूलाई दिन लागिएको करिब ८०० जनाको सामूहिक मृत्युदण्ड तत्कालका लागि रोकिएको ह्वाइट हाउसले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएलगत्तै तेहरानले उक्त कदम रोकेको अमेरिकी सञ्चार सचिव क्यारोलिन लेभिटले जानकारी दिनुभयो । प्रेस ब्रिफिङका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानभित्रका महत्त्वपूर्ण स्रोतहरूले मृत्युदण्डका योजना स्थगित गरिएको सन्देश पठाएका थिए । इरानमा पछिल्लो समय आर्थिक संकट र सरकारी दमनका विरुद्ध देशव्यापी प्रदर्शन भइरहेका छन् । अमेरिकाले इरानको स्थिति नजिकबाट नियालिरहेको र मानव अधिकार उल्लंघन जारी रहे सैन्य विकल्पसहितका सबै बाटा खुला रहेको चेतावनी समेत दिएको छ। यद्यपि, इरानी पक्षले भने यसबारे स्पष्ट आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

Back to top