×

इरानमा बढ्दो महँगी र आर्थिक संकटलाई लिएर भइरहेको प्रदर्शनले हिंसात्मक रूप लिँदा ६ जनाको मृत्यु भएको छ। इरानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिसँगै मुद्राको मूल्यमा आएको भारी गिरावटको विरोधमा पाँच दिनदेखि प्रदर्शन जारी छ। 

दक्षिण–पश्चिमी शहर लोर्डेगान र पश्चिमी प्रान्त लोरेस्तानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा ६ जनाको ज्यान गएको समाचार एजेन्सीले जनाएका छन्। राजधानी तेहरानका व्यवसायीले शुरु गरेको यो आन्दोलन अहिले देशका विभिन्न विश्वविद्यालय र शहरमा फैलिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा प्रदर्शनकारीले सवारी साधनमा आगजनी गरेको र देशका सर्वोच्च नेताविरुद्ध नाराबाजी गरेको देखिन्छ। 

कतिपय प्रदर्शनकारीले राजतन्त्रको पुनरागमनको माग समेत गरेका छन्। सुरक्षा बलले प्रदर्शनकारीले हानेको ढुंगाले १३ जना प्रहरी घाइते भएको दाबी गरेको छ। सरकारले ऊर्जा बचतको बहानामा विद्यालय र सरकारी कार्यालयहरू बन्द गराएको भए पनि, आन्दोलन दबाउन यस्तो कदम चालिएको नागरिकको आरोप छ। 

राष्ट्रपति मसुद पेजेस्कियानले प्रदर्शनकारीका जायज माग सुन्ने आश्वासन दिएका छन्। यद्यपि, महान्यायाधिवक्ताले भने देशको स्थिरतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनयताको यो सबैभन्दा ठूलो र व्यापक विरोध प्रदर्शन मानिएको छ ।

Back to top