×

वीरगञ्ज । अर्थ मन्त्रालयले कर छलिमा साथ दिदाँ विद्युतिय गाडी बीवाईडी बिक्री गर्ने साइमेक्स इंक प्राइभेट लिमिटेडले एकै वर्ष २ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को कारोबारबाट कम्पनीले १ अर्ब ९८ करोड ८८ लाख ३० हजार ६०१ रुपैयाँ नाफा कमाएको हो । कम्पनीले सो वर्ष १६ अर्ब ३९ करोड ८२ लाख ९१ हजार १८० रुपैयाँको कारोबार गर्दै सो बराबरको नाफा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ८९ करोड १६ लाख ५९ हजार ४७४ रुपैयाँ बराबरको कारोबार गरेको थियो। सो कारोबारबाट कम्पनीले १६ करोड ६५ लाख १०६ रुपैयाँ नाफा गरेको थियो ।

कम्पनी स्रोतले उपलब्ध गराएको विवरण अनुसार डाइरेट कष्ट (Direct Cost) १३ अर्ब ४९ करोड ८६ लाख ८९ हजार १८५ रुपैयाँ खर्च गरेको छ । कर्मचारीहरुको सेवा सुविधाको लागि २२ करोड ५६ लाख ५२ हजार ८०७ रुपैयाँ खर्च गरेको छ । यस्तै, कर्मचारी बोनसका लागि १८ करोड ६९ लाख ३१ रुपैयाँ बाडिएको उल्लेख गरेको छ । कम्पनी संचालन खर्चमा ३४ करोड १५ लाख ६ हजार ६६२ रुपैयाँ खर्च लेखेको छ ।

यस्तै, सेलिङ र डिष्ट्रिब्यूसन शिर्षकमा ३२ करोड २९ लाख ९१ हजार ८०७ रुपैयाँ खर्च गरेको छ ।

यसैगरी, खर्च कट्टी शिर्षकमा २ करोड ६ लाख २० हजार ५२५ रुपैयाँ राखिएको छ । कम्पनीले संचालन मुनाफा १ अर्ब ९८ करोड ८८ लाख ३० हजार ६०१ रुपैयाँ गरेको छ । कम्पनीले फाइनान्स कष्ट भन्दै १२ करोड २८ लाख ५४ हजार ८२३ रुपैयाँ खर्च लेखेको छ । सोहि मुनाफाबाट कर्मचारीका लागि १८ करोड ६९ लाख बोनस बाडेको दाबी गर्दै खर्च कट्टी गरेको छ ।

कम्पनीले कर्मचारी सेवा सुविधाबा लागि मात्रै ४१ करोड २६ लाख २९ हजार ४३१ रुपैयाँ खर्च गरेको दाबी गरेको छ ।

यो कुल संचालन मुनाफाको २०.७४ प्रतिशत हुन आउँछ ।

कम्पनीले खर्च कटाएर १ अर्ब ६८ करोड २७ लाख ९३ हजार २८० रुपैयाँमा २५ प्रतिशत मुनाफा कर तिरेको छ । जसमा ४३ करोड ५ लाख २० हजार ५५५ रुपैयाँ रहेको छ । सो वर्षभन्दा अघिल्लो वर्ष  कम्पनीले १० करोड ५५ लाख १७ हजार ७३९ रुपैयाँमा कर तिरेको थियो । सो वर्ष २ करोड ९८ लाख १४ हजार ३८६ रुपैयाँ कर तिरेको थियो ।

कम्पनीले एकै वर्षमा ७ करोड ३९ लाख ८८ हजार ५७२ रुपैयाँ करपछिको नाफाबाट १ अर्ब २५ करोड २३ लाख ५४ हजार ८१४ रुपैयाँ पुर्याएको छ । 

कर छलिमा अर्थ मन्त्रालयको साथ पाएपछि बढ्यो मुनाफा

बीवाईडी बिक्री गर्ने साइमेक्स इंकले १६० किलोवाटको विद्युतिय गाडीलाई १०० किलोवाट घोषणा गरी कर छलि गरिरहेको छ । साइमेक्स इंकको कर छलिमा अर्थ मन्त्रालयले पनि स्पष्ट रुपमा साथ दिएको छ । अर्थ मन्त्रालयले विद्युतिय गाडीको किलोवाट अनुसार कर दर तोकेको छ । साइमेक्सले किलोवाट अनुसार कर घोषणा गर्नुअघि एट्टो-३ मोडेलको गाडी १६० किलोवाट भन्सार घोषणा गरेर ल्याउने गरेको थियो । तर किलोवाट अनुसार कर दर तोक्न थालेपछि सोहि मोडेलको गाडी १०० किलोवाट घोषणा गरेर ल्याएको छ । यसरी ६० किलोवाट कम देखाउँदा १० प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तशुल्क गरी १५ प्रतिशत कम पर्न जान्छ ।

तर अर्थ मन्त्रालयले भने यसरी खुलेआम कर छलि भैरहँदा पनि आखा चिम्म गरेर बसेको छ । सोहि भन्सारबाट सोहि गाडी कहिले १६० किलोवाट कहिले १६० किलोवाट भनेर भित्रिदा पनि निर्वाध गाडीहरु जाँचपास भैरहेको छ ।

सोहि मोडेलको गाडी १०० किलोवाटमा श्रीलंकामा जाँचपास गर्न खोजेपछि श्रीलंकन सरकारले भन्सार नाकामै १००० गाडी रोकेर धरौटी राखेर मात्रै जाँचपास गराएको छ । श्रीलंकन भन्सार विरुद्ध कम्पनी अदालत समेत गएको थियो, अदालतले कम्पनीको अपिललाई अस्वीकार गरेको छ ।

तर नेपाली भन्सारले भने यातायात व्यवस्था विभागलाई देखाउँदै पन्छिने गरेको छ । भन्सार विभागका तल्लो तहको कर्मचारीहरु भने अर्थ मन्त्रालयका माथिल्लो तहमै आयातकर्ताले घुसपैठ गरी नितिगत भ्रष्टाचार गरेको दाबी गर्ने गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा विभागका एक कर्मचारीले सिंहदरबारसँग भने,“विद्युतिय गाडीमा कर छलि भएको विषय १०० वटा प्रमाणबाट पुष्टी गर्न सकिन्छ । तर मन्त्रालयको उच्च तहबाट नै केहि नगर्नु भन्ने आदेश आउँछ । हामीलाई मोहोडा मात्रै बनाएका छन्, माथिल्लो तहमा करोडौंको चलखेल भएको स्पष्ट छ ।” ती कर्मचारीका अनुसार पछि आफूहरु अनुसन्धानबाट जोगिन भन्सार नाकामै आयातकर्ताहरुलाई पछि कर तिर्ने शर्त सहित करारनामा गराउने गरिएको छ ।

महालेखाले उठायो प्रश्न

महालेखा परिक्षकको कार्यालयले विद्युतिय गाडीमा कर छलि भएको भन्दै ६२ औं प्रतिवेदनमा बेरुजू लेखिसकेको छ । प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक ऐन, २०८० ले विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावरको आधारमा पैठारी भएका सवारीसाधनको मोटर पिक पावर ५० देखि १०० किलोवाटसम्म भएमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य), ८७०३.८०.२१ ( अनएसेम्बल), ८७०३.८०.२९ (अन्य ) बाट जाँचपास गरी १५ प्रतिशत भन्सार महसुल १० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर तथा मोटर क्षमता १०० देखि २०० किलोवाट भएमा भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था छ ।

विभिन्न पैठारीकर्ताले विद्युतीय सवारीसाधन पैठारी गर्दा पेस गरेको बीजकमा उल्लिखित पिकपावरको आधारमा भन्सार जाँचपास हुने गरेकोमा जडित मोटरको क्षमताको प्राविधिक जाँच गर्ने गरेको देखिएन । साथै यातायात कार्यालयले समेत ती सवारीसाधनको रोड ओर्दिनेस मात्र जाँच गर्ने गरेको देखिन्छ ।  विभिन्न पैठारीकर्ताले पिक मोटर पावरको क्षमता घोषणा गरे पनि प्राविधिकबाट परीक्षण नभएको साथै विद्युतीय सवारीसाधनका उत्पादक वा अन्य स्वतन्त्र जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने टेष्ट रिपोर्ट समेत संलग्न छैन ।

ती सवारीसाधनको उत्पादक कम्पनीको वेबपेजमा रहेका क्याटलग तथा अन्य देशमा गरेको निर्यातको विवरणको आधारमा पैठारी भएका विभिन्न मोडेलका सवारीसाधनहरू १०० किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताको रहेको देखिन्छ । तथापि रसुवा र तातोपानी भन्सार कार्यालयबाट पैठारी भएका सवारीसाधनहरूको घोषणाबमोजिम क्षमता ९९ किलोवाट पिक मोटर पावर क्षमता उल्लेख गरी भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य ) बाट जाँचपास भएको देखिन्छ ।

भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा सो नगरेकोले आधिकारिक उत्पादकले प्रकाशन गरेको सवारीसाधनको प्राविधिक स्पेसिफिकेसन तथा मोटर क्षमता जाँच गरी रसुवा भन्सार कार्यालयबाट रु. २ अर्ब ७४ करोड १८ लाख ९९ हजार र तातोपानी भन्सार कार्यालयबाट रु. १ अर्ब ३ करोड २५ लाख २० हजारसमेत रु.३ अर्ब ७७ करोड ४४ लाख १९ हजार छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल गर्नुपर्दछ ।’

महालेखाले भन्सार विभागको नाममा एकैवर्ष ३ अर्ब ७७ करोडको बेरुजू लेखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागलाई चिठ्ठी लेख्दै प्रतिवेदन माग गरेको छ । आयोगले पत्र लेखेपछि विभागले विद्युतिय गाडीमा कर छलि भएको विषयमा भन्सार जाँचपास परिक्षण कार्यालयमा ३३ वटा प्रज्ञापन पत्र छनोट गरी पठाइसकेको छ । जाँचपास परिक्षण कार्यालयले कर छलि भएको हो या होइन भनि २ वर्षभित्र टुङग्याउनु पर्ने व्यवस्था छ ।

महालेखाले १ वर्षमा मात्रै ३ अर्ब ७७ करोडको बेरुजू देखाएको हो । पछिल्ला वर्षहरुमा यो प्रकृतिको कर छलि २० अर्ब हाराहारीमा पुगेको अनुमान गरिएको छ । साभार : सिंहदरबार बाट

Back to top