रौतहट । नेपाल चिकित्सक संघ (NMA) रौतहट शाखाले जिल्लाभित्र बिना दर्ता सञ्चालनमा रहेका अस्पताल र क्लिनिकहरू तत्काल बन्द गरी कानूनी कारबाही गर्न माग गरेको छ।
जिल्लाको बौधिमाई नगरपालिकामा सबैभन्दा बढी ल्याब र औषधी पसल बिना दर्ता सञ्चालन हुने गरेको चन्द्र्ज्योती होस्पितलका मेडिकल डाइरेक्टर डा. अमरेश यादवले जानकारी दिनुभयो।
संघका अध्यक्ष डा. सुभाष कुमार चौधरी र सचिव डा. मनोज कुमार कौशलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जिल्लाभित्रका धेरै स्वास्थ्य संस्था बिना दर्ता सञ्चालनमा रहेकाले स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर असर परेको छ। यसले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ। त्यसैले सम्बन्धित निकायले तुरुन्त अनुगमन गरी कारबाही गर्न आवश्यक छ।”
नेपाल चिकित्सक संघ रौतहटले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएको भन्दै यसमा लापरबाही र अनियमितता सह्य नहुने स्पष्ट पारेको छ। साथै संघले जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराउँदै तत्काल कदम चाल्न आग्रह गरेको छ।
संघले यसअघि पनि जिल्लामा स्वास्थ्य सेवा क्षेत्रमा सुधार र व्यवस्थित व्यवस्थापन गर्न सरकारी संयन्त्रको ध्यानाकर्षण गराउँदै आएको छ।
