×

रौतहट । रौतहटको सीमावर्ती वन क्षेत्रबाट तस्करी गरिँदै गरिएको सालको गोलिया काठ लोड भएको भारतीय नम्बर प्लेटको स्कारपियो जिप सशस्त्र वन रक्षकको गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव नेतृत्वको गस्ती टोलीले कटहरिया नगरपालिका–१ भसेढवा क्षेत्रबाट मंगलबार राति उक्त जिप नियन्त्रणमा लिएको हो।
गुजरा नगरपालिकाको सीम्री वन क्षेत्रबाट तस्करी गरी ल्याइएको एमएच ०४ डीबी ६३५३ नम्बरको स्कारपियो जिप रोक्ने प्रयास गर्दा चालकले वन रक्षक टोलीलाई देखेपछि फरार भएका थिए।

गस्ती टोलीले स्कारपियोलाई रोकेर चेकजाँच गर्न खोज्दा तस्करले जिप भगाएको र ७ किलोमिटरसम्म पछ्याएर भसेढवा नजिकै पुगेर गाडी नियन्त्रणमा लिइएको वन अधिकारीहरुले जनाएका छन्।
उक्त स्कारपियोमा लोड गरिएको सालको काठको स्रोत वा वैध कागजातहरू केही पनि प्रस्तुत नगरिएको कारण काठ तस्करी भएको पुष्टि भएको छ।

स्कारपियो छाडेर भाग्न सफल चालक तथा काठ तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। तस्करी रोकथामका लागि नियमित गस्तीलाई अझ सशक्त बनाउने र सीमावर्ती क्षेत्रहरूमा निगरानी थप कडा पारिने वन अधिकारीहरूको भनाइ छ।

Back to top