रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–२ पिपरा भलोहियामा स्थापित सरस्वती बहुमुखी क्याम्पसको एक विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको छ। मधेश विश्वविद्यालयबाट सम्बद्धता प्राप्त गरी सञ्चालनमा ल्याइएको यो क्याम्पसमा अबदेखि सार्वजनिक प्रशासन व्यवस्थापन (BPAM) र उद्यमशीलता व्यवस्थापन (BEM) विषयमा स्नातक तहको पढाइ हुने भएको छ।
उक्त क्याम्पसको उद्घाटन मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति शाक्यले दुर्गा भगवती गाउँपालिकाले शिक्षा क्षेत्रमा लिएको अग्रगामी पहलको प्रशंसा गर्नुभयो। उहाँले अब स्थानीय विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता हटेको बताउँदै, गाउँमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर आएकोमा खुसी व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेश विश्वविद्यालयका डिन डा. अन्जयकुमार मिश्रले आफू पनि यही क्षेत्रको विद्यार्थी भएको उल्लेख गर्दै स्थानिय क्याम्पसमा अध्यापन सुरु गर्न पाउनु गौरवको विषय भएको बताए। उनले विश्वविद्यालयको नीति र निर्देशानुसार अगाडि बढ्दै यस क्याम्पसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक डा. घनश्याम ठाकुरले मधेश विश्वविद्यालयद्वारा प्रवर्द्धित यो क्याम्पस स्थानीय शैक्षिक पूर्वाधारको सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताउँदै सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरे।
उद्घाटन समारोह दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष शिला देवी, विभिन्न वडाध्यक्षहरू, राजनीतिक शास्त्रका सेवानिवृत्त प्राध्यापक देवेन्द्र मिश्र, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव, सरस्वती माविका प्रधानाध्यापक राजेन्द्र साह, साथै स्थानीय बुद्धिजीवी, समाजसेवी र बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।