सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरी डिजिटल साक्षरता सुदृढ बनाउन आईसिटी फाउण्डेशन नेपाल (IFN) र एनसेल फाउण्डेशनले संयुक्त रूपमा ‘आईसीटी ज्ञान’ कार्यक्रम सातै प्रदेशमा आयोजना गर्ने भएको छ ।
उल्लेखित कार्यक्रम अन्तर्गत प्रदेश प्रमुख शहर साथै अरु केन्द्रहरूमा समावेशी तालिम सत्र सञ्चालन गरी विद्यालयका विद्यार्थी, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण दिइनेछ।
नेपालका विभिन्न प्रदेशहरूमा डिजिटल साक्षरता र प्रविधिको प्रयोगका विविध पहलहरू आगामी दिनमा सञ्चालन गरिने छन्। कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
मधेश प्रदेशमा सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैंकिङ् र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धन गरिनेछ। बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिमहरू प्रदान गरिने छन्।
साथै गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छन्। लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तार गरिनेछ।
कर्णाली प्रदेशको दैलेख र सल्यानमा ई–गुम्तिकरा प्रणाली र डिजिटल वित्तीय समावेशनमा ध्यान केन्द्रित गरिनेछ भने सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्ममार्फत प्रदान गरिने छन्। यी पहलकदमीहरूले आगामी दिनमा देशभर डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछन्।
आईसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले भने, “डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सहायक हुनेछ । समुदाय स्तरबाट सीप विकासले दिगो सामाजिक–आर्थिक परिवर्तन ल्याउने विश्वास लिएका छौं ।”
तालिममा सहभागी हुन इच्छुकले आईसिटी ज्ञानको आधिकारिक वेबसाइट www.ictgyan.com मार्फत फारम भर्न सक्नेछन्। थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ। आईसीटी समाचार