×

नेपालमा थ्रीजी सेवा प्रयोग गर्नेको संख्या लगातार घटिरहेको देखिएको छ । एक वर्षको अवधिमै थ्रीजी प्रयोग गर्नेको संख्या ६३ लाखले घटेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ माघसम्मको तथ्यांक अनुसार नेपालमा ९ लाख २० हजार ८६१ मात्रै थ्रीजी प्रयोगकर्ता छन् । 

जबकी २०८० माघसम्म थ्रीजी प्रयोगकर्ता ७२ लाख २३ हजार १८९ थिए । थ्रीजी प्रयोग गर्ने ग्राहक लगातार घट्न थालेपछि सेवा प्रदायक बन्द गर्ने विकल्पमा पुगेका छन् । 

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यसैवर्षदेखि थ्रिजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । एनसेलका १ लाख ३८ हजार ५६१ थ्रीजी प्रयोगकर्ता रहेका छन् । 

यता नेपाल टेलिकमका पनि ७ लाख ८२ हजार ३०० मात्रै थ्रीजी ग्राहक छन् । यद्यपी टेलिकमले भने थ्रीजी बन्द गर्ने घोषणा गरिसकेको छैन् । 

टुजी प्रयोगकर्ता पनि घट्दै

दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०८१ माघसम्म टुजी प्रयोगकर्ता ३२ लाख ६५ हजार ४०१ रहेका छन् । 

जबकी २०८१ पुससम्म ३३ लाख ६२ हजार २९६ रहेका थिए । एक महिनाको अवधिमै करिब १ लाख टुजी प्रयोगकर्ता घटेका छन् । 

यद्पी टुजी प्रयोगकर्ता बढ्ने घट्ने क्रम निरन्तर चलिरहेको छ । २०८१ वैशाखसम्म टुजी प्रयोगकर्ता १४ लाख ७१ हजार थिए । त्यो संख्या गत असोजमा आउँदा ५९ लाख पुगेको थियो । 

नेपाल टेलिकमले पनि यसैवर्षदेखि १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । शहरमा भन्दा पनि गाउँमा टुजी सेवा बढी प्रयोग हुँदै आएको छ ।

विश्व फाइभजीमा पुगिसकेको छ । विश्वका धेरै देशले टुजी, थ्रीजी सेवा बन्द गरेर फोरजी, फाइभजी प्रविधिमा गइसकेका छन् । नेपालका सेवा प्रदायक पनि त्यसतर्फ अग्रसर भइरहेका छन् । 

Back to top