×

वीरगञ्ज । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका इन्जिनियर दीपेन्द्र कुमार साहले खानेपानी मन्त्री प्रदीप यादवविरुद्ध प्रधानमन्त्री समक्ष गम्भीर उजुरी दर्ता गराएका छन् । उनले मन्त्री यादवविरुद्ध उच्चस्तरीय संसदीय छानबिन टोली गठन गरी कारबाही गर्न माग गरेका छन् ।

साहले वैशाख ११ गते प्रधानमन्त्री कार्यालयमा पेस गरेको उजुरी पत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गरिएको छ । पत्रमा उनले फागुन २२ गतेदेखि आयोजना प्रमुखका रूपमा काम गर्दै आएका बेला मिथिला, सिराहा, राजविराज र गौशालाका महत्त्वपूर्ण खानेपानी परियोजनाहरूलाई सक्रिय बनाएको र कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्न सकारात्मक ऊर्जा सञ्चार गरेको बताएका छन् ।

तर, मन्त्री यादवले व्यक्तिगत स्वार्थपूर्तिका लागि आयोजना सञ्चालनमा हस्तक्षेप गर्दै आफूलाई सरुवा गर्नुका साथै अधिकार खोसेको साहको गुनासो छ । उनले मन्त्रीको निर्णयका कारण आयोजनाको प्रगति ठप्प भएको र लाखौँ नागरिकको स्वच्छ खानेपानी पाउने अधिकार हनन भएको उल्लेख गरेका छन् ।

साहका अनुसार मन्त्री यादवका निकटका व्यक्तिहरूमार्फत सात करोड रुपैयाँको डिप बोरिङलगायत परियोजनामा व्यक्तिगत लाभका लागि दबाब दिइएको थियो । उनले मन्त्रीको प्रत्यक्ष हस्तक्षेप र अनियमितताको सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

साथै, उनले जनकपुर आयोजना कार्यालयमा पुनः इन्जिनियरकै हैसियतमा बहाली गरिनुपर्ने र जनकपुर क्षेत्रका नागरिकका लागि खानेपानी योजनाको अवरोध हटाउन सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । निजामती सेवामा १२ वर्षदेखि इमानदारीपूर्वक सेवा गर्दै आएका साहले मधेस प्रदेशका जनताको सेवा गर्ने आफ्नो चाहना रहेको समेत पत्रमा उल्लेख गरेका छन् ।

साहले प्रधानमन्त्रीसमक्ष व्यक्तिगत स्वार्थका कारण सार्वजनिक सेवामा भइरहेको हस्तक्षेप अन्त्य गर्न आह्वान गर्दै सरकारलाई पारदर्शिता र सेवा निरन्तरताका लागि शीघ्र कदम चाल्न आग्रह गरेका छन् ।

 

Back to top