रियल म्याड्रिड कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ। योसँगै उसले जारी संस्करणमा आफ्नो ट्रेबल उपाधि जित्ने सपना जीवितै राख्न सफल भयो। एन्टोनियो रुडिगरले अतिरिक्त समयमा निर्णायक हेडर गोल गर्दै रियल सोसिडाडलाई स्तब्ध पारे।
सब्सटिच्युट खेलाडीका रुपमा मैदान छिरेका रुडिगरले ११५औं मिनेटमा गरेको गोल रियललाई फाइनल पुग्न महत्त्वपूर्ण बन्यो। उनको यो गोल सँगै रियलले ४–४ को बराबरी खेल्दै समग्रमा ५–४ को अग्रतासहित फाइनलमा स्थान बनायो।
रोमाञ्चक र उतरचढावपूर्ण बनेको दोस्रो हाफमा २१ मिनेटको भित्र पाँच गोल भएका थिए। दुवै टोली सेभियामा हुने फाइनलमा पुग्न आक्रामक देखिंदा खेल रोमाञ्चक बनेको थियो। पहिलो लेगमा १–० ले पछि परेको सोसिडाडका लागि १६औं मिनेटमा आन्डर बारेनेट्सियाले गोल गर्दै टिमलाई दोस्रो लेगमा अग्रता दिलाए।
तर, ३०औं मिनेटमा युवा ब्राजिली स्ट्राइकर एन्ड्रिकले सुन्दर चिप गोल गर्दै समग्र स्कोरमा म्याड्रिडलाई पुनः अघि ल्याए। ७२औं मिनेटमा डेविड आलाबाको आत्मघाती गोलपछि पाहुना टोली पुनः खेलमा फर्कियो।
आठ मिनेटपछि मिकेल ओयार्जाबालले लो ड्राइभ प्रहार गर्दै स्कोर ३–१ बनाए, जुन आलाबालाई छोएर गोलमा परिणत भएको थियो। तर, केही क्षणमै इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्गह्यामले भली प्रहार गर्दै खेल बराबरीमा ल्याए।
८६औं मिनेटमा अरेलियन चुआमेनीले हेड गोल गर्दै म्याड्रिडलाई फाइनलको नजिक पुर्याए, जबकी रेमिरोको कमजोर बचाउ प्रयास असफल भयो। तर, नाटकीय खेल सकिएन। अतिरिक्त समयमा सोसिडाडका कप्तान ओयार्जाबालले आकर्षक हेड गर्दै खेललाई पुनः अतिरिक्त समयतर्फ धकेलेका थिए।
रुडिगरले निर्णायक गोल गर्दै म्याड्रिडलाई समग्रमा ५–४ को जित दिलाए। रियल म्याड्रिडको पहिलो ट्रेबल जित्ने सम्भावना अझै कायम छ। ला लिगामा रियल बार्सिलोनाभन्दा तीन अंकले पछि रहेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनलसँग खेल्दैछन् र कोपा डेल रे उपाधि जित्ने अभियानमा रियल रहेको छ।
अब बुधबार बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ। विजेता टिमले फाइनलमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने छ।