म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनल प्रवेश गरेको छ। भिटालिटी स्टेडियममा घरेलु टिम बर्नमाउथविरुद्ध सिटीका अर्लिङ हालान्डले पेनाल्टी मार्फत अग्रता लिने सुनौलो अवसर गुमाएका थिए। १४ औं मिनेटमा बर्नमथका टेलर एडम्सबाट ह्यान्ड बल भएपछि सिटीले पेनाल्टी पाएको थियो। तर, हालान्डले प्रहार गरेको पेनाल्टिलाई बर्नमाउथका गोलकिपरले बचाए।
२१ औं मिनेटमा सिटी १–० गोलले पछि पर्यो। बर्नमाउथका लागि इभानिल्सनले गोल गरेका हुन्। पहिलो हाफमा मौका पाएपनि सिटीले गोल गर्न सकेन।
दोस्रो हाफमा प्रशिक्षक पेप ग्वार्डिवालाले डिफेन्डर अब्दुकोडिर खुसानोभको स्थानमा २० वर्षिय मिडफिल्डर निको ओ राइलीलाई मैदान प्रवेश गराए। ग्वार्डिवालाको सब्सिच्युटसनले सिटीका लागि जादुको काम गर्यो। उनको उत्कृष्ट क्रसमा हालान्डले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे। ६१ औं मिनेटमा हालान्ड चोटग्रस्त हुँदै मैदान बाहिरिए।
उनलाई इजिप्टका स्ट्राइकर ओमार मारमुसले प्रतिस्थापन गरे। ६३ औ मिनेटमा ओमारले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए। उनका लागि पनि राइलीलेनै पास दिएका थिए।
यहि नतिजा सिटीका लागि सेमीफाइनलमा नटिङगम फरेस्टसँगको भेट पक्का गर्न पर्याप्त भयो।
यो सँगै सिटीको सिजनमा उपाधि जित्ने आशालाई पनि जीवीतै राखेको छ। सन् २०१६–१७ को सिजनमा सिटीको प्रशिक्षकका रुपमा डेब्यू गरेयता ग्वार्डिवाला सिजनमा उपाधिविहीन भएका छैनन्।
गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले प्रिस्टनलाई ३–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो। सेमिफाइनलमा भिल्लाले सेमिफाइनलमा क्रिष्टल प्यालेससँग खेल्नेछ।