इण्डियन प्रिमियर लिग आइपीएलमा कोलकता नाइट राइडर्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा कोलकताले राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो।
१ सय ५२ रनको लक्ष्य कोलकताले १७ दशलमव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। कोलकताको जितमा ओपनर क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले। डि ककले अविजित रहँदै ६१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९७ रन जोडे। अंगकृष्ण रघुवंशी १७ बलमा २२ रनमा अविजित रहे। कप्तान अजिक्य रहाणे १८ रनमा आउट भए। ओपनर मोइन अलि ५ रनमा पेभिलियन फर्किए। राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो। राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए। ओपनर सञ्जु स्यामसनले १३ तथा नितिश रानाले ८ रन बनाए।
यशस्वी जैसवाल २९ रनमा आउट भएका थिए भने कप्तान रियान पराग २५ रन जोड्दै आउट भए। जोफ्रा आर्चरले १७ बनाए। कोलकताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ। पहिलो खेलमा राजस्थान सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।
प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदराबाद र लखनउ सुपरजायन्टबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ।