वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल सरकारको स्वीकृति बिना नै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग गुपचुप रूपमा भेट गरेका छन् ।
मुख्यमन्त्री सिंह औपचारिक निम्तो विना नै गोरखपुर पुगेका थिए । लामो समयदेखि योगीसँग भेट गर्न चाहिरहेका सिंह यसअघि बिना निम्तो अयोध्या पुगेका थिए, तर त्यहाँ उनलाई उत्तर प्रदेश सरकारले खासै चासो नदिएपछि अपमानित भएर फर्केका थिए ।
नेपाल सरकार र मधेस प्रदेशका मन्त्रीहरूलाई कुनै जानकारी नदिई मुख्यमन्त्री सिंहले भारत भ्रमण गर्नु रहस्यमय मानिएको छ ।
मुख्यमन्त्री सिंहले मधेस र उत्तर प्रदेशबिच पर्यटन प्रवर्द्धनबारे छलफल भएको दाबी गरे पनि प्रदेश सरकारका कुनै अधिकारी यस भ्रमणमा संलग्न नभएको देखिएको छ ।
हालै काठमाडौँमा पूर्वराजा समर्थकहरूले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहित प्रदर्शन गरेपछि नेपालको राजनीति तातिएको थियो ।
यस्तो संवेदनशील समयमा मुख्यमन्त्री सिंहले गोप्य रूपमा भारत भ्रमण गर्नु अझ शङ्कास्पद भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
नेपाल सरकारको अनुमति बिना मुख्यमन्त्रीको भारत भ्रमण कूटनीतिक दृष्टिले समेत विवादित हुन सक्ने आङ्कलन गरिएको छ । यसबारे सङ्घीय सरकारले चासो राख्ने वा नराख्ने विषयमा चर्चा बढेको छ ।