बा पिठ्युँमा बोकेको भारी बिसाउँदै
लामो सुस्केरा हालेर चौतारीमा बस्नुहुन्थ्यो विश्राम गर्न,
चौतारीमा बा सँगै
उकाली ओराली गर्ने बटुवाहरु
अनि घाँस दाउरा मेला पात गर्ने भरियाहरुले
सुस्ताउने अनि थकाई मेटाउने चौतारी
आज भत्किएछ ।
साहिँला बा सबैको साझा थिए ।
आफू जन्मिएको सार पूर्ण गर्न
आफ्नो सम्झानमा चौतारी बनाएका थिए ।
चौतारी साहिँला बाको चिनारी मात्र थिएन ।
चौतारीले गाउँको सभ्यता बोकेको थियो ।
पुस्ताको विडो थामेको थियो ।
हजारौको पसिना पुछेको थियो ।
निरस यामको कठिन समयमा शीतलता प्रदान गरेको थियो ।
आफ्नो बेथा लुकाएको थियो ।
आफ्नो कथा र बेथा साझा गर्ने दौतरी जमाएको थियो ।
चौतारी अब भत्कियछ ।
चौतारी भत्किए सँगै उसले एक अध्याय गुमाएको छ ।
जीवनको अन्तिम अवस्थामा टेक्ने लट्ठी गुमाएको छ ।
किनकि गाउँबाट मुग्लान गएकाले फर्कने बाटो भुलेको छन् ।
खेतमा काम गर्ने जोश जागरको पाखुरी हराएको छ ।
गाउँ निरस छ ।
हे, दौतरी हे मेरा सखा सखी तिमी गाउँ फर्की आऊ ।
बा को हजारौ सपनालाई सजाउनु छ ।
फेरि दौतरी भेला गरी टारी खेतमा धानको वाला झुलाउनु छ ।
पाखा बारीमा घैया, फापर, कोदो फलाउदै,
मादलु तालमा झाउरे भाका हाली
वन, पाखा घन्काउदै दुःख सुख साट्नु छ ।
मेला, पर्म गर्नु छ, यो भूमिलाई हरियाली पार्नु छ ।
आफ्नो पौरखमा रमाउँदै, आफ्नो माटो सिँगार्दै
पार्टी, पौवा चौतारीले आफ्नो अस्तित्व नगुमाउँदै,
कागजको पानामा सीमित नराखी यही धरातलमा ठड्याउनु छ ।
माटो सुहाउँदो परिवेशमा रम्नु छ ।
बा को सपनालाई सजाउनु छ ।
पुर्खाको सभ्यतालाई बचाउनु छ
चौतारीलाई यही धरातलमा ठड्याउनु छ ।
यसको अस्तित्व जोगाउनु छ ।