वीरगञ्ज । फागु पुर्णिमा तथा होली पर्वको अवसरमा वीरगञ्जमा श्रष्टा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक चौतारी नेपाल मधेश प्रदेश शाखाको आयोजनामा वीरगञ्जस्थित होटल गेटवै मा कार्यक्रम सम्पन्न भएको हो ।
साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले साहित्य समाजको ऐना भएको बताउँदै साहित्यमार्फत समाजको यथार्थलाई पस्किनुपर्नेमा जोड दिए ।
साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार प्राध्यापक डा. देवी नेपालले साहित्यिक चौतारी नेपाल साहित्य मात्रै नभएर सामाजिक कार्यमा पनि समर्पित भएको बताए । होलीको रंग जस्तै सबैको जीवन पनि रंगीन हुनुपर्ने बताउँदै उनले साहित्यिक चौतारी नेपालको सक्रियताको सह्राना गरे ।
बरिष्ठ साहित्यकार मदन पुरस्कार विजेता डा. नवराज लम्साल, वरिष्ठ साहित्यकार गणेश लाठ, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिङ ठकुरी, लक्ष्मी साहित्य प्रतिष्ठान अध्यक्ष महेश गौतम, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी लगायतले साहित्यमार्फत समाज सुधारमा योगदान गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा राजेन्द्र प्रसाद कोइराला, प्रमोद पाण्डेय हेरम्ब, जय यादव, सुशिला भण्डारी, दिलिपराज कार्की, काशिराम कट्टेल लगायतले रचना वाचन गरेका थिए ।
होली पर्वको अवसरमा आयोजित कार्यक्रममा होलीको शुभकामना आदानप्रदान सहितको होली विशेष गीत गजल र कविता वाचन गरिएको थियो । कार्यक्रमको सहजीकरण साहित्यिक चौतारी नेपाल मधेश प्रदेशका सचिव सूर्यनारायण बि.क.ले गरेका थिए ।