तस्बिर : जिल्ला प्रशासन कार्यालय, पर्सा ।
वीरगञ्ज । फागु पूर्णिमा अर्थात् तराई-मधेसको होलीको पूर्व सन्ध्या वीरगञ्जमा मासु व्यवसायीहरूले आफूखुसी मूल्यवृद्धि गरी बिक्री वितरण गरेको व्यापक जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थलगत अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको नेतृत्वमा गठित संयुक्त बजार अनुगमन टोलीले वीरगञ्जको मुर्लीचोक, राधेमाई, चण्डाल चोक, रामगढवा र छपकैया क्षेत्रमा सञ्चालित ९ वटा मासु पसलको अनुगमन तथा जाँच गरेको हो ।
अनुगमनका क्रममा न्यु घरकत मिट हाउस, समीम फ्रेस हाउस एण्ड सप्लायर्स, आरिक फ्रेस हाउस, दिलसाद फ्रेस हाउस, सुलमानमियाको मासु पसल, महमद स्टोर, अफताव मिट स्टोर, न्यु लक्की मिट हाउस र टौमिर एण्ड टौसिर मासु पसल जाँच गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक कुमार पटेलले जानकारी दिए ।
अनुगमन गरिएकामध्ये अधिकांश पसलले मूल्य सूची नराखेको र आधीभन्दा बढी पसल इजाजतबिना सञ्चालनमा रहेको पाइएको थियो ।
प्रशासकीय अधिकृत पटेलका अनुसार, न्यु घरकत मिट हाउस र आरिक फ्रेस हाउसमा सरसफाइमा ध्यान नदिएको, दिलसाद फ्रेस हाउसमा पनि स्वच्छताको अभाव देखिएको र सुलमानमियाको मासु पसल, महमद स्टोर, अफताव मिट स्टोर, न्यु लक्की मिट हाउस र टौमिर एण्ड टौसिर मासु पसल इजाजतबिना सञ्चालित रहेको फेला पाइएको थियो ।
साथै, केही पसलले वरिपरिका वातावरण प्रदूषित गरेको, स्वच्छ र स्वस्थ मासु बिक्री नगरेको, मासुको उचित चिस्यान र भण्डारणको व्यवस्था नगरेको जस्ता समस्या पनि देखिएको उनले बताए ।
अनुगमन टोलीले मासु पसल सञ्चालकहरूलाई जथाभाबी मूल्यवृद्धि नगर्न, अनिवार्य रूपमा मूल्य सूची राख्न, स्वच्छ र स्वस्थ मासु मात्र बिक्री गर्न र इजाजतबिना सञ्चालित पसलले ७ दिनभित्र इजाजत पत्र लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।
त्यस्तै, नापतौल यन्त्र प्रमाणित गराएर मात्र प्रयोग गर्न, रोग लागेको वा कालगतिले मरेको पशुको मासु बिक्री नगर्न, एक जातको मासुलाई अर्को जातको मासु भनेर मिसाएर वा झुक्क्याएर बिक्री नगर्न पनि सचेत गराइएको पटेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पर्साले उपभोक्ताहरूलाई स्वच्छ र ताजा मासु मात्र खरिद गर्न, मनोमानी मूल्य वा गुणस्तरहीन मासु बिक्री भएको देखिएमा प्रशासन वा प्रहरीलाई जानकारी गराउन अनुरोध पनि गरेको छ ।
होली पर्वको समयमा मासुको माग बढेसँगै व्यवसायीहरूले उपभोक्तालाई ठग्ने र गुणस्तरहीन मासु बिक्री गर्ने प्रवृत्ति रोक्न अनुगमन प्रभावकारी कदम मानिएको छ । तर, इजाजतबिना सञ्चालित पसलको ठूलो सङ्ख्या र सरसफाइमा देखिएको लापरबाहीले मासु बिक्रीको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ । प्रशासनले आगामी दिनमा यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अनुगमन टोलीमा वाणिज्य कार्यालयका मधुरेश प्रसाद शाह र कविकान्त कुशवाह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका मनोज दास, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका जगत् प्रकाश चौधरी, जिल्ला प्रहरी कार्यालयका ऋषिराम भट्टराई, जिल्ला प्रशासन कार्यालय पर्साका शिवशङ्कर शाह, भेटनरी अस्पतालका धनसुन्दर प्रसाद शाह र माछामासु व्यवसायी सङ्घका अध्यक्ष कुहरत रहिम सहभागी थिए ।