वीरगञ्ज । वीरगञ्जमा एक सरकारी गाडीको दुरुपयोग भएको पाइएको छ । सीमावर्ती शहर रक्सौलबाट विभिन्न किसिमका सामग्री लिएर आउँदै गरेको अवस्थामा स्थानीयले देखेर विरोध गरेपछि सरकारी सवारी दुरुपयोग भएको विषय सतहमा आएको हो ।
बिहिवार साँझ ७ बजेर २५ मिनेटको समयमा ००१ झ ०१३८ नम्बरको फोटोनको पिकअप सरकारी गाडी रक्सौलबाट सामान भरिएको अवस्थामा वीरगञ्ज आइरहेको स्थानीयले देखेपछि रोकेक र विरोध गरेका थिए ।
नियमानुसार सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाइने भएपनि खुलेयाम रुपमा जिम्मेवार निकायले नै नीतिविपरितका काम गरेपछि स्थानीय आक्रोशित बनेका हुन् ।
सर्वसाधारणले सरकारी गाडीको दुरुपयोग रोक्न कडा कानुनी व्यवस्था लागू गर्न माग गरेका छन् । उनीहरूले यस्तो कार्यमा संलग्न कर्मचारीको तलबबाट खर्च असुल गर्नुपर्ने, दोहोरिएमा जागिरबाट हटाउने कानुन कडा रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
सरकारी साधन जनताको करबाट सञ्चालन हुने भएकाले यसको दुरुपयोग निजी स्वार्थका लागि हुनु निन्दनीय भएको स्थानीयको भनाइ छ ।