इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीविरुद्ध पाँच–एक गोलको सानदार जित हात पार्दै शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दूरी ६ मा झारेको छ।
डिफेन्डिङ च्याम्यिन सिटीका लागि यो रात दुःखद् रह्यो। आफ्नै गल्तीका कारण सुरुवाती २ गोल बेहोरेको पेप गार्डिओलाको टोलीले पुनरागमन गर्न सकेन।
खेलको सुरुवातमै आर्सनलले अग्रता बनायो। म्यानचेस्टर सिटीका डिफेन्डर मनुएल अकान्जीले जन स्टोन्सको पास नियन्त्रण गर्न नसक्दा आर्सनलले अवसर सदुपयोग गर्यो।
आर्सनलका कप्तान मार्टिन ओडेगार्डले खेलको १ सय ३औँ सेकेन्डमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
खेलको ५५औँ मिनेटमा एर्लिङ हालान्डले साबिन्होको क्रसमा हेडरमार्फत् गोल गर्दै खेल एक–एक गोलको बराबरीमा फर्काए। तर त्यसपछि आर्सनल निकै आक्रमक बन्यो। ५६औँ मिनेटमा फोडेनको पास थाँमस पार्टेले रोक्दै लामो दूरीबाट शट गोल गरे।
त्यसको पाँच मिनेटपछि पाँच १८ वर्षीय माइल्स लुइस(स्केलीले आफ्नो पहिलो प्रिमियर लिग गोल गर्दै आर्सनलको अग्रता तीन–एक बनाए। काइ हाभट्र्जले काउन्टर–अट्याकमा अर्को गोल थपे । खेलको अन्तिम मिनेटमा १७ वर्षीय एथान एनवानेरीले उत्कृष्ट लेफ्ट–फुटेड सटमार्फत् आर्सनललाई पाँच–एकको अवस्थामा पुर्याए।
जितसँगै आर्सनलले २४ खेलबाट तालिकामा ५० अंक जोडेको छ। आर्सनल लिगको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलले ५६ अंक छ। सिटी समान खेलमा ४१ अंकसहित चौथो स्थानमा छ।