×

वीरगञ्ज । हिन्दु धार्मिक सङ्घसंस्थाहरूले सरस्वती पूजा मूर्ति विसर्जनका क्रममा कुनै पनि अवरोध वा उच्छृङ्खल गतिविधि भए हिन्दु समुदाय एकताबद्ध भएर कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

आइतबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद्, राष्ट्रिय बजरंग दल, हिन्दु परिषद् नेपाल, इस्कोन लगायतका सङ्घसंस्थाका अगुवाहरूले विगतमा देखिएका अप्रिय घटनाहरूको पुनरावृत्ति हुन नदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई विशेष सतर्कता अपनाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा हिन्दु अगुवाहरूले विगतका वर्षहरूमा रौतहट, सिराहा, महोत्तरी लगायतका जिल्लामा सरस्वती पूजा मूर्ति विसर्जनका क्रममा हिन्दु समुदायमाथि भएका आक्रमणहरू स्मरण गराउँदै यस्तो स्थिति दोहोरिए हिन्दु समाज अब चुप लागेर नबस्ने बताए । सो क्रममा विभिन्न स्थानमा हिन्दुहरूमाथि भएको आक्रमणको भिडियो पनि देखाइएको थियो । 

विश्व हिन्दु परिषद् पर्साका अध्यक्ष बृजेश मल्लिकले हिन्दु समुदाय अब दबाबमा नपर्ने बताउँदै कुनै पनि प्रकारको आक्रमण भए प्रतिकार गर्ने बताए । उनले भने, “हिन्दुहरूको धार्मिक आस्थामा बारम्बार हमला भइरहेको छ । विगतमा मूर्ति विसर्जनका क्रममा ढुंगामुढा प्रहार, जुत्ता-चप्पल हान्ने, अवरोध सिर्जना गर्ने जस्ता घटनाहरू भएका छन् । यस्ता घटनालाई राज्यले गम्भीर रूपमा नलिएको देखिन्छ । अब हिन्दु समाजले आफ्ना धार्मिक कार्यहरू कुनै अवरोध बिना सम्पन्न गर्न पाउनु पर्छ, अन्यथा हामी बाध्य भएर प्रतिकारमा उत्रिनु पर्नेछ ।”

राष्ट्रिय बजरंग दलका अध्यक्ष राजु जयसवालले मूर्ति विसर्जनको अधिकार कुण्ठित हुन नदिन राज्य र प्रशासनलाई हिन्दुहरूको धार्मिक स्वतन्त्रताको सुरक्षा गर्न आग्रह गरे । “हामी सहनशील छौँ, तर हाम्रो सहनशीलतालाई कमजोरी नसम्झियोस् । हिन्दु समुदायले आफ्नो धार्मिक संस्कार शान्तिपूर्वक मनाउन पाउने संवैधानिक अधिकार छ । यदि यसपालि पनि कुनै अवरोध भए, हामी कठोर कदम चाल्न बाध्य हुनेछौँ,” उनले चेतावनी दिए ।

हिन्दु परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सञ्जय सर्राफले प्रशासनले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा बताउँदै भने, “राज्य सबै धर्मप्रति समान व्यवहार गर्नुपर्छ । मूर्ति विसर्जनका क्रममा कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त-दुरुस्त हुनुपर्छ । हिन्दु समाज अब जागरूक भइसकेको छ । यदि हाम्रो धार्मिक आस्थामाथि खेलबाड भयो भने त्यसको गम्भीर परिणाम हुनेछ ।”

इस्कन पर्साका अध्यक्ष मुक्तिनाथ प्रभुजीले नेपाल हिन्दुहरूको ऐतिहासिक भूमि भएको बताउँदै हिन्दुहरूको परम्परा र धार्मिक आस्थामाथि बारम्बार प्रहार हुँदा पनि राज्य मौन रहनु आपत्तिजनक भएको टिप्पणी गरे । “अब कुनै पनि अराजक समूहले मूर्ति विसर्जनमा अवरोध गर्न खोजे हिन्दु समाज त्यसको उचित जवाफ दिन पछि पर्ने छैन,” उनले भने ।

विश्व हिन्दु परिषद् नेपाल वीरगञ्ज महानगर युवा प्रमुख रञ्जन सिंहले विशेष गरी युवाहरूमा बढ्दै गएको आक्रोशबारे जानकारी गराउँदै अब हिन्दूहरू अन्यायको सामना गर्न तयार रहेको बताए । उनले सरस्वती पूजाका अवसरमा अश्लील गीतहरू बजाउने प्रवृत्ति रोक्न प्रशासनसँग विशेष आग्रह पनि गरे । “धार्मिक उत्सवहरू मर्यादित हुनुपर्छ । मूर्ति विसर्जनको क्रममा असभ्य गीतहरू बजाएर संस्कृतिमाथि प्रहार गर्ने प्रवृत्ति रोक्न सुरक्षा निकायहरूले कडा निगरानी गर्नुपर्छ,” उनले भने ।

वीरगञ्ज महानगर सत्सङ्ग प्रमुख चन्दन बरनवाल, राष्ट्रिय बजरंग दलका पर्सा जिल्ला अध्यक्ष विवेक सिन्हालगायतले हिन्दु समुदायमाथि कुनै पनि प्रकारको आक्रमण वा अवरोध भए हिन्दु समाज सङ्गठित भएर प्रतिकार गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, प्रशासनले कुनै पूर्वाग्रह नराखी निष्पक्ष रूपमा हिन्दुहरूको धार्मिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा विशेष जोड दिए । 

कार्यक्रम विश्व हिन्दु परिषद् पर्साका अध्यक्ष बृजेश मल्लिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top