×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रयोगविहीन स्वास्थ्य उपकरणहरूको पुनः कार्यान्वयनले अस्पतालको सेवा स्तरमा महत्त्वपूर्ण सुधार ल्याएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा अस्पतालमा रहेका ६० भन्दा बढी स्वास्थ्य उपकरणहरूको मर्मत कार्य सम्पन्न भएको छ । मर्मत गरेर अस्पताल प्रशासनले झन्डै डेढ करोड रुपैयाँ बचत गरेको विकास समितिका अध्यक्ष धिरज गुप्ताले दाबी गरे ।

अस्पतालका विभिन्न विभागहरू—जस्तै, आइसियु, एनआइसियु , रेडियोलोजी, शल्यक्रिया कक्ष, र डायलिसिस—भित्र उपकरणहरूको अवस्था लामो समयदेखि समस्याग्रस्त थियो । उपकरणहरूको बिग्रिएका अवस्था अस्पताल सेवाका लागि ठूलो चुनौती बनेको थियो । सोही विषयलाई मध्यनजर गर्दै अस्पताल विकास समितिका अध्यक्ष गुप्ताको पहलमा अस्पताल प्रशासनले राष्ट्रिय आविष्कार केन्द्रसँग उपकरणहरू मर्मतका लागि सम्झौता गरेको थियो ।

सम्झौता गरिएको केही दिन भित्रै विशेषज्ञहरूले उपकरणहरूलाई पुनः सक्रिय बनाएका छन् । मर्मत गरिएका उपकरणहरूमध्ये धेरै महत्त्वपूर्ण मेसिनहरू छन्, जसले बिरामीहरूको उपचार प्रक्रियालाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।

एनआइसियुमा बेबी वार्मर, फोटो थेरापी मेसिनजस्ता उपकरणहरूको मर्मतपछि नवजात शिशुहरूको हेरचाहमा सुधार आएको छ । आइसियुमा विभिन्न भेन्टिलेटर, पेसियन्ट मनिटर, र सिरिन्ज पम्पहरूको मर्मतले गहन देखभाल सेवा थप प्रभावकारी बनाएको छ भने रेडियोलोजी विभागमा सीआर रिडर मेसिनले पुनः काम गर्न थालेपछि बिरामीहरूको छिटो परीक्षण सम्भव भएको छ । यस्तै, शल्यक्रिया कक्षका विभिन्न उपकरणहरूको मर्मतपछि शल्यक्रियाको प्रभावकारिता बढेको छ ।

डायलिसिस सेवाका उपकरणहरूमध्ये केहीमा जटिल प्राविधिक समस्या रहेको भए पनि त्यसको निराकरणका लागि थप प्रयास भइरहेको अस्पताल गुप्ताले जानकारी दिए । मर्मत कार्य सम्पन्न गर्न उपकरणहरूको परीक्षण, आवश्यक सुधार, र प्राविधिक समाधानका चरणहरू राष्ट्रिय आविष्कार केन्द्रले पूरा गरेको हो ।

उपकरणहरू मार्फत गर्नका निमित्त अस्पताल प्रशासनले राष्ट्रिय आविष्कार केन्द्रसँग पुस ११ गते लिखित सम्झौता गरेको थियो । सम्झौतामा मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र केन्द्रका तर्फबाट बायो मेडिकल इन्जिनियर उमेश किराँतले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, बिग्रेका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरणहरूलाई सञ्चालनमा ल्याउने जिम्मा केन्द्रले लिएको छ ।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार सम्झौताले नारायणी अस्पतालको सेवा क्षमतामा मात्र सुधार ल्याएको छैन, उपकरणहरूको दीर्घकालीन उपयोगमा समेत योगदान पुर्‍याएको छ । यसले अस्पतालको आर्थिक व्यय कम गर्दै सेवा प्रवाहलाई समयसापेक्ष बनाएको छ ।

नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धिरज गुप्ताले उपकरण मर्मत कार्यलाई अस्पतालको गुणस्तरीय सुधारतर्फको ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका छन् । उनका अनुसार, बिग्रिएका उपकरणहरूको पुनरुत्थानले स्वास्थ्य सेवामा आशातीत सुधार ल्याउनुका साथै बिरामीहरूको विश्वासलाई पुनः स्थापित गरेको छ ।

अध्यक्षको जिम्मेवारी सम्हालेदेखि गुप्ताले अस्पतालका अन्य क्षेत्रमा पनि सुधार देखिन थालेका छन् । उनका अनुसार, “अस्पतालमा भएका अक्षम्य समस्याहरूलाई समाधान गर्दै, स्वास्थ्य उपकरणहरूको मर्मतमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइएको छ । यस पहलले अस्पताललाई आर्थिक रूपमा सुदृढ गर्नुका साथै बिरामीका लागि गुणस्तरीय सेवा दिन प्रेरित गरेको छ ।”

गुप्ताले अस्पतालमा स्वास्थ्य सेवाका प्रत्येक क्षेत्रलाई पुनर्संरचना गर्ने योजना तयार पारेका छन् । उनका अनुसार, “हामी आगामी दिनमा सेवा विस्तार, बिरामीहरूको सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग, र स्वास्थ्य सेवामा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू अघि बढाउँदै छौँ ।”

उनको नेतृत्वपछि अस्पतालमा स्वास्थ्य सेवा मात्र होइन, व्यवस्थापनमा समेत पारदर्शिता र जबाफदेहिताको माहौल सिर्जना भएको छ । उनले भने, “अस्पताल केवल भवन र उपकरण मात्र होइन; यो मानव सेवा र समर्पणको प्रतीक हो । अस्पतालमा आउने बिरामीले आफ्नो समस्या समाधान हुने विश्वासका साथ फर्किनु नै हाम्रो सफलताको मानक हो ।”

उनी जस्ता युवा नेतृत्वका कारण अस्पतालले स्थानीय स्तरमा मात्र होइन, क्षेत्रीय स्तरमा पनि राम्रो पहिचान बनाइरहेको छ । स्वास्थ्य उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउने, विभागीय सेवाहरूको विस्तार गर्ने, र आपत्कालीन परिस्थितिमा तयारी अवस्थामा रहने रणनीति बनाउँदै, उनले अस्पताललाई एक नयाँ उचाइमा पुर्‍याउने दिशामा कदम चालिरहेको बताइएको छ ।

Back to top