×

वीरगञ्ज । परिश्रम र दृढताले सफलता सम्भव छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् बाराको जितपुरसिमरा उपमहानगरपालिकाका शर्मिला भुसाल र उनका श्रीमान् दिलीप चौधरी ।

तीन वर्षअघि दुई लाख रुपैयाँको सानो लगानीमा सुरु भएको “क्विन बरिस्ता एन्ड बेकर्स” अहिले व्यावसायिक सफलताको उचाइमा पुगेको छ । ग्राहकहरूको भरपुर माया पाएपछि उनीहरूले हाल वीरगञ्ज महानगरपालिका–८, रेल्वे रोडमा आफ्नो नयाँ शाखा सञ्चालन गरेका छन् ।

विदेश जानु मात्र विकल्प होइन भन्ने कुरा प्रमाणित गर्दै शर्मिला र दिलीपले युवाहरूलाई प्रेरणा दिने उद्यमशीलताको उदाहरण समेत प्रस्तुत गरेका छन् । 

शर्मिलाले आफ्नो व्यावसायिक यात्रा काठमाडौँबाट सुरु गरेकी थिइन् । बेकरी र पेय पदार्थ सम्बन्धी व्यावसायिक तालिम लिँदै, उनले पहिलो पटक जितपुरसिमरामा “क्विन बरिस्ता एन्ड बेकर्स” स्थापना गरिन् । सुरुमा चुनौतीपूर्ण भए पनि श्रीमान् दिलीपसँगको सहकार्य, निरन्तर प्रयास, र ग्राहकहरूको विश्वासका कारण उनी व्यवसाय विस्तार गर्न सफल भइन् ।

“हामीले थोरै लगानीमा सुरु गरेका थियौँ, तर हाम्रो इच्छाशक्ति र मेहनतले यो सम्भव बनायो,” शर्मिलाले भनिन् ।

“क्विन बरिस्ता एन्ड बेकर्स” ले आफ्नो विशिष्ट स्वाद र गुणस्तरीय सामग्रीका कारण छोटो समयमै ठूलो लोकप्रियता पाएको छ । यहाँ बबल टी, कफी, मिल्क सेक, फ्रापे, बेकरी आइटम, र अन्य पेय पदार्थहरू उपलब्ध छन् ।

शर्मिलाले भनेझैँ, “हामी आफ्नै हातले सामग्री तयार गर्छौँ, जसले गर्दा गुणस्तरमा कुनै सम्झौता गर्नुपर्दैन । ग्राहकहरूको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो ।”

शर्मिला र दिलीपको सहकार्यले साना व्यवसायहरू पनि कसरी ठूलो सफलता र प्रेरणाको स्रोत बन्न सक्छन् भन्ने देखाएको छ । वीरगञ्जको नयाँ शाखा उनीहरूले परिवारकै बलमा सञ्चालन गरिरहेका छन् । सिमराको शाखा उनकी कान्छी बहिनीले सम्हालेकी छन् । “व्यवसायमा परिवारको साथ र समर्थनले ठूलो प्रभाव पार्छ,” शर्मिला भन्छिन् ।

विदेशमा दुःख गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्नु लाभदायक रहेको उनको भनाई छ । “हाम्रो देशमा अवसर छ, त्यसलाई चिन्ने र सही दिशामा मिहिनेत गर्ने हो भने सफलता सम्भव छ,” उनले भन्छिन्, “सिप सिकौँ, मिहिनेत गरौँ, र आफ्नै देशमा केही नयाँ निर्माण गरौँ ।” 

उनले ग्राहकहरूसँगको सम्बन्धलाई आफ्नो सफलता मानेकी छन् । ग्राहकको माया र विश्वासले नै नयाँ शाखा विस्तार गर्ने हिम्मत दिएको उनले सुनाइन ।

शर्मिला र दिलीपले बेकरी व्यवसाय सुरु गरेर युवाहरूलाई उदाहरणीय सन्देश दिएका छन् । “हाम्रो यात्रा कुनै विशेष अवसर वा ठूलो लगानीबाट सुरु भएको थिएन । हामीले सिप, मेहनत, र इमानदारीलाई आफ्नो हतियार बनायौँ । तपाईँहरू पनि यसरी नै कुनै सानो व्यवसाय सुरु गरेर ठूलो सपना पूरा गर्न सक्नुहुन्छ,” शर्मिला भन्छिन् ।

शर्मिलाको यात्रा महिलाहरूको आर्थिक सशक्तीकरणको पनि उत्कृष्ट उदाहरण हो । सुरुमा विभिन्न सामाजिक र आर्थिक चुनौतीहरू सामना गर्नुपरे पनि श्रीमान् दिलीपको सहकार्य र आफ्नो दृढताले उनले व्यवसायलाई विस्तार गर्न सफल भएकी छन् ।

“महिला भएर व्यवसाय सञ्चालन गर्नु सजिलो थिएन, तर हाम्रो समाजमा महिलाहरूको भूमिकालाई परिवर्तन गर्न आवश्यक छ । सिप र मेहनतको बलमा महिलाहरूले ठूला लक्ष्यहरू हासिल गर्न सक्छन्,” शर्मिलाले भन्छिन् ।

Back to top